धनुषा । जनता समाजवादी पार्टी (जसपा) नेपाललाई धनुषामा धक्का लाग्ने गरी प्रदेश सदस्य तथा जिल्लाका प्रभावशाली नेता चन्देश्वर महतोसहित मिथिला र धनुषाधाम क्षेत्रका ३२ जना नेता–कार्यकर्ताले पार्टी परित्याग गरेका छन्।
महतोसहित उनीहरूले जसपा नेपालको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका हुन्। राजीनामा २०८३ असोज २० गतेदेखि लागू हुने उल्लेख गरिएको छ। यद्यपि राजीनामा पत्रमा पार्टी छाड्नुको कारण ‘व्यक्तिगत कारण’ भनिएको छ।
तर, एकैपटक दुई स्थानीय तहका ३२ जना नेता–कार्यकर्ताले पार्टी छाडेपछि यसको राजनीतिक अर्थ र प्रभावबारे स्थानीय तहमा चर्चा सुरु भएको छ। विशेषगरी चन्देश्वर महतोको बहिर्गमनलाई धनुषाको जसपा राजनीतिमा महत्वपूर्ण घटनाका रूपमा हेरिएको छ।
महतोले यसअघि जसपा नेपालको जिल्ला अध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन्। उनी प्रतिनिधिसभा सदस्य पदका लागि समेत दुई पटक निर्वाचनमा प्रतिस्पर्धा गरिसकेका नेता हुन्। २०७९ को निर्वाचनमा उनी जसपाबाट धनुषा–४ (ख) प्रदेशसभा सदस्यका उम्मेदवारसमेत बनेका थिए।
मिथिला र धनुषाधाममा संगठनात्मक असर
राजीनामा दिने ३२जनामध्ये २२ जना मिथिला नगरपालिका र १० जना धनुषाधाम नगरपालिकाका रहेका छन्। यसले जसपाको स्थानीय संगठनभित्रको अवस्था र आगामी राजनीतिक समीकरणबारे पनि प्रश्न उठाएको छ।
मिथिला नगरपालिकाबाट पूर्व केन्द्रीय सदस्य मनुमाया मोक्तान, नगर अध्यक्ष रामनाथ महतो, नगर उपाध्यक्ष सरस्वती देवी, नगर सचिव आनन्द कुमार महतो र नगर कोषाध्यक्ष साजन महतोसहित २२ जनाले राजीनामा दिएका छन्।
त्यस्तै धनुषाधामबाट पूर्व जिल्ला सदस्य जगत नारायण मरिक, नगर कमिटी सदस्य कंचन कुमारी ,वडा कमिटी अध्यक्ष पवन यादवसहित १० जना पार्टीबाट अलग भएका छन्।
राजीनामा दिनेहरूमा मनुमाया मोक्तान, रामनाथ महतो, सरस्वती देवी, आनन्द कुमार महतो, साजन महतो, कोशिला देवी, लक्ष्मण महतो, वैएलाल महरा, किशोरी महतो, सुमित्रा देवी, सिता देवी, रामकुमारी महतो, लाल विहारी यादव, बैएण महतो, अमृत महतो, लक्ष्मी कुमारी लोहागुन, दुखनी देवी, विजय कुमार महतो, विष्णु दियाल साह, फते बहादुर, मनु लामा र रामनाथ यादव रहेका छन्।
धनुषाधामतर्फ जगत नारायण मरिक, पवन यादव, देवनारायण यादव, खिलदेव यादव, ख्जु कुमारी यादव, सैलो कुमारी यादव, बबिता यादव, अनिता कुमारी यादव र रोशन यादव रहेका छन्।
अब चन्देश्वर महतो कतारु
सामूहिक राजीनामापछि सबैभन्दा चासोको विषय भनेको चन्देश्वर महतोको आगामी राजनीतिक यात्रा बनेको छ। मधेश आन्दोलनको राजनीतिमा सक्रिय रहँदै आएका महतोले यसअघि जसपाको जिल्ला नेतृत्वसमेत सम्हालिसकेका कारण उनको आगामी कदमलाई धनुषाको स्थानीय राजनीतिमा चासोका साथ हेरिएको छ।
तर, महतोसहित राजीनामा दिएका नेता–कार्यकर्ताले तत्काल कुनै नयाँ राजनीतिक दल वा अभियानमा जाने विषयमा औपचारिक घोषणा गरेका छैनन्।
राजीनामा पत्रमा पार्टी नेतृत्व तथा सहकर्मीलाई धन्यवाद दिँदै राजीनामा स्वीकृत गर्न अनुरोध गरिएको छ। अब उनीहरूको आगामी राजनीतिक निर्णयले धनुषाको स्थानीय राजनीतिक समीकरणमा कस्तो प्रभाव पार्छ भन्ने विषय भने प्रतीक्षाको विषय बनेको छ ।
जसपा धनुषामा ठूलो धक्का: चन्देश्वर महतोले दिए सामूहिक राजीनामा
तपाईको प्रतिक्रिया
सम्बन्धित खबर






