रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

लाईट जडानको भुक्तानी विवाद:मेयर यादवमाथि आरोप, ‘भुक्तानी लिएर पनि नलिएको भन्दै बदनाम गर्न खोजियो’

धनुषा । शहिदनगर नगरपालिकाका नगर प्रमुख दिनेश प्रसाद यादवमाथि विभिन्न वडामा लाईट जडानको काम गराएर रकम भुक्तानी नगरेको आरोप लगाउँदै प्रशासनमा उजुरी परेको विषयमा विवाद चुलिएको छ।
औरही गाउँपालिका–१, पौडेश्वरका चन्द्रकिशोर यादवले नगरपालिकाको वडा नं. १, ३, ४ र ७ मा लाईट जडानको काम गरेबापत अझै ७ लाख ५० हजार रुपैयाँ भुक्तानी हुन बाँकी रहेको दाबी गरेका छन्। उनका अनुसार नगर प्रमुख यादवको मौखिक आश्वासनमा काम सुरु गरेको भए पनि काम सम्पन्न गरेपछि बाँकी रकम भुक्तानीका लागि पटक–पटक आग्रह गर्दा पनि सुनुवाइ नभएको आरोप छ।
चन्द्रकिशोरका अनुसार उनले २०८२ असोज २४ गतेदेखि काम सुरु गरेका थिए। त्यसक्रममा असोज २७ गते १७ हजार रुपैयाँ र कार्तिक २ गते ८५ हजार रुपैयाँ नगद प्राप्त गरेको तथा पछि नगरपालिकाबाट आधिकारिक प्रक्रियामार्फत ८ लाख ६३ हजार १८ रुपैयाँ भुक्तानी भएको उनको भनाइ छ। तर, आफूले गरेको कामको थप रकम अझै बाँकी रहेको उनको दाबी छ।
उपलब्ध कागजातअनुसार शहिदनगर नगरपालिकाबाट आशिका ट्रेडर्स एण्ड जेनरल अर्डर सप्लायर्सका नाममा ८ लाख ६३ हजार १८ रुपैयाँ भुक्तानी भएको देखिन्छ। उक्त फर्मको दर्ता प्रमाणपत्रमा प्रोप्राइटरको नाम चन्द्रकिशोर पाठ्य उल्लेख छ। भुक्तानीसम्बन्धी गोश्वारा भौचरमा फ्लोर टाइल मर्मत कार्यको अन्तिम भुक्तानीसमेत उल्लेख गरिएको छ।
तर, चन्द्रकिशोरले भने आफूले नगरपालिकाका विभिन्न वडामा टावर लाइटलगायतका काम गरेको र करिब ४० लाख रुपैयाँ बराबरको काम भएको दाबी गरेका छन्। उनका अनुसार करिब २५ वटा टावर लाइट जडान गरिएको थियो।
उनले नगर प्रमुख यादवसँग भएको भनिएको कुराकानी, कामसम्बन्धी सम्झौता तथा रकम लेनदेनका केही प्रमाण आफूसँग सुरक्षित रहेको दाबीसमेत गरेका छन्। बाँकी रकम आफूले पाउनुपर्ने भए पनि अन्य फर्मको नाममा रकम भुक्तानी गरिएको हुनसक्ने भन्दै उनले छानबिनको माग गरेका छन्।
मेयर यादवको खण्डन : ‘सबै रकम भुक्तानी गरिसकेको छु’
यता शहिदनगर नगरपालिकाका नगर प्रमुख दिनेश प्रसाद यादवले भने आफूले कामबापतको सबै रकम भुक्तानी गरिसकेको दाबी गरेका छन्।
उनले चन्द्रकिशोरले आफूले रकम नपाएको भन्दै लगाएको आरोप निराधार रहेको प्रतिक्रिया दिएका छन्। नगर प्रमुख यादवका अनुसार नगरपालिकामा भुक्तानीसँग सम्बन्धित सम्पूर्ण फाइल तथा कागजात सुरक्षित छन् र सम्बन्धित कामबापत प्रक्रिया पूरा गरेर रकम भुक्तानी गरिएको छ।
नगर प्रमुख यादवले भुक्तानी लिएर पनि नलिएको भन्दै आफूलाई बदनाम गर्न खोजिएकोप्रति दुःख व्यक्त गरेका छन्। उनले आफूविरुद्ध गलत सूचना तथा आरोपका आधारमा भ्रम सिर्जना गर्ने प्रयास भएको भन्दै यस्ता गतिविधिबाट सावधान रहन सम्बन्धित सबैलाई आग्रह गरेका छन्।
उनले आरोपको निष्पक्ष छानबिन गर्न आवश्यक परे आफू कागजातसहित जवाफ दिन तयार रहेको संकेतसमेत गरेका छन्।
यता चन्द्रकिशोरले भने अझै ७ लाख ५० हजार रुपैयाँ आफूले पाउन बाँकी रहेको दाबी गर्दै आएका छन्। त्यसैले वास्तविक रूपमा कति रकमको काम भएको थियो, कुन शीर्षकअन्तर्गत कति रकम भुक्तानी भयो र बाँकी रकम भए त्यसको जिम्मेवारी कसको हो भन्ने विषय नगरपालिकाको भुक्तानी फाइल, सम्झौता, प्राविधिक मूल्यांकन तथा सम्बन्धित कागजातबाट स्पष्ट हुने देखिन्छ।
यस विषयमा प्रशासनमा परेको उजुरी तथा दुवै पक्षका दाबीमाथि सम्बन्धित निकायबाट आवश्यक छानबिन भएमा विवादको वास्तविकता थप स्पष्ट हुने देखिन्छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर