धनुषा — धनुषाधाम नगरपालिकाले आजदेखि पुनः बर्थिङ सेन्टर सञ्चालन तथा निःशुल्क एम्बुलेन्स सेवा सुरुआत गरेको छ। यस सेवाले नगर भित्रका गर्भवती महिलालाई सहजता प्रदान गर्ने अपेक्षा गरिएको छ।
प्राथमिक स्वास्थ्य केन्द्र धनुषाधाममा आयोजित एक कार्यक्रममा नगरपालिकाले डेलिभरी महिलाहरूका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्नुका साथै बर्थिङ सेन्टरको पुनः सञ्चालनको घोषणा गरेको हो। प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख अरुण मण्डलले यस सेवाले गर्भवती महिलाहरूलाई सुरक्षित प्रसूति सेवा प्रदान गर्न मद्दत गर्ने विश्वास व्यक्त गरे।
आज आयोजित उक्त कार्यक्रममा धनुषाधाम नगरपालिकाका मेयर बालेश्वर मण्डल, उपमेयर विद्या देवी भुजेल, प्रमुख प्रशासकीय अधिकृत सञ्जित प्रसाद दास, वडा अध्यक्षहरू जयनारायण यादव, मनोज कुमार यादव, हेमनारायण यादव, कपिल बस्नेत, सुनिल कापर, स्वास्थ्य शाखा प्रमुख हरिनारायण महतो, महिला स्वयंसेविका तथा पालिका सदस्यहरूको उपस्थिति रहेको थियो।
पत्रकार मुकेश कुमार ठाकुरसंगको कुराकानीमा नगर प्रमुख मण्डलले नगरपालिकाले नागरिकहरूको स्वास्थ्य सुरक्षालाई उच्च प्राथमिकता दिएको बताउँदै आगामी दिनमा थप स्वास्थ्य सुविधाहरू विस्तार गर्ने योजना रहेको जानकारी दिए। उनले विशेष गरी मातृ तथा शिशु स्वास्थ्यलाई सुरक्षित बनाउनका लागि निःशुल्क एम्बुलेन्स सेवा प्रभावकारी हुने विश्वास व्यक्त गरे।
स्वास्थ्य क्षेत्रको पूर्वाधार विकास र सेवाको सुलभ पहुँच अभिवृद्धि गर्न धनुषाधाम नगरपालिकाले विभिन्न योजनाहरू अघि बढाइरहेको छ। नगरपालिकाले गर्भवती महिलाहरूका लागि यो नयाँ पहल स्वागतयोग्य हुने बताउँदै स्थानिय दिपनारायाण यादवले पनि यसको उचित सदुपयोग गर्न आग्रह गरेको छ।




