धनुषा, फागुन २६ – मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलको सहभागितामा धनुषाधाम नगरपालिका–३ स्थित जङ्गलको वनस्पतिमा ‘ जनतासंग सभामुख’ कार्यक्रम सम्पन्न भएको छ।
धनुषाधाम नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष जयनारायण यादवको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि सभामुख रामचन्द्र मण्डल रहनुभएको थियो ।
कार्यक्रममा विभिन्न राजनीतिक दलका नेताहरु, प्रदेश सभाका सचिव तथा कर्मचारी, नागरिक समाजका अगुवा, बुद्धिजीवी र स्थानीय जनताको उल्लेखनीय उपस्थिति रहेको थियो।
सभामुख मण्डलले सम्बोधन गर्दै भने, जनता समाजको मेरुदण्ड हुन्। यही जनताको बलबुताले कोही मेयर, कोही मन्त्री, कोही प्रधानमन्त्री, त कोही राष्ट्रपति बन्छन्।
समाजलाई सुव्यवस्थित बनाउन सभामुख जस्तो प्रणाली आवश्यक हुन्छ। म कुनै दल विशेषको मात्र होइन, सबै जनताको सभामुख हुँ।
सभामुख मण्डलले जनताले आफ्नो उत्तरदायित्व नबिर्सनुपर्ने उल्लेख गर्दै भने, आज जनताले आफ्नो दायित्व गुमाइरहेका छन्।
लोकतन्त्र जनताको हातमा शक्ति दिने व्यवस्था हो, तर जनताले नै सोचबिचार नगरी निर्णय गर्ने प्रवृत्ति अपनाएको देखिन्छ।
उनले संविधानले दिएको व्यवस्थाको सही उपयोग गर्नुपर्नेमा जोड दिँदै भने, हाम्रो व्यवस्थाले अहिले जनतालाई सबै अधिकार दिएको छ।
तर चुनावका बेला सबैलाई खुसी पार्ने गरी मतदान गर्दा परिणाम खिचडी जस्तो देखिएको छ।
अब स्पष्ट बहुमत दिने निर्णय गर्नुपर्छ, जसले काम गर्दैन, उसलाई जनताले कडा सजाय दिनुपर्छ।
सभामुख मण्डलले धनुषा क्षेत्रका स्थानीय सरकार प्रमुखहरूसँग सहकार्य गर्न कठिनाइ भएको पनि बताए।
उनले भने, मेरो क्षेत्रमा पाँच वटा नगरपालिका छन्, तर कतिपय मेयरहरु फोन नै उठाउँदैनन्।
काम गर्न नमिल्नेहरूसँग पनि समन्वय गर्नुपर्छ, किनभने मिल्नेहरूसँग त सबै मिल्छन्।
कार्यक्रममा नागरिक समूहका अगुवाहरूले स्थानीय समस्याका बारेमा आफ्नो धारणा राखेका थिए।
कार्यक्रममा किशोरी साह कमल, राज किशोर यादव , केदार अधिकारी , सिपी यादव, सुरज कुमार लामा, असर्फी भिन्नार यादव, किनण कुमारी कापर लगायतको उपस्थिति रहेको थियो।
सभामुख मण्डलले जनताको समस्या समाधान गर्न प्रदेशसभा प्रतिवद्ध रहेको उल्लेख गर्दै, हामी जनताको लागि काम गरिरहेका छौँ, तपाईंहरूको विश्वास र आशीर्वादले म सभामुख बनेको हुँ, भने।
कार्यक्रमले जनतासँग प्रत्यक्ष संवाद गर्दै उनीहरूको समस्याबारे जानकारी लिने अवसर प्रदान गरेको सहभागीहरूले बताएका छन्।




