रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

आन्दोलनका क्रममा पत्रकार सुरेश रजकको ज्यान गयो, सञ्चारगृहमा तोडफोड र आगजनी

[sharethis-inline-buttons]

 

काठमाडौं — राजसंस्थाको पुनर्स्थापनाको माग राखेर भएको भनिएको आन्दोलन हिंसात्मक बन्दै जाँदा एक पत्रकारको ज्यान गएको छ भने विभिन्न सञ्चारगृहहरूमा तोडफोड र आगजनी भएको छ।

शुक्रबार भएको आन्दोलनका क्रममा एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको आगलागीमा परी ज्यान गएको नेपाल पत्रकार महासंघले पुष्टि गरेको छ। आन्दोलनरत समूहले आगो लगाएको भवनमा समाचार संकलनका क्रममा पत्रकार रजकको मृत्यु भएको हो।

तीनकुनेस्थित अन्नपूर्ण मिडिया ग्रुपको भवनमा तोडफोड र आगजनी गरेर ठूलो क्षति पुर्‍याइएको छ। यस्तै, कान्तिपुर टेलिभिजनको भवनमा जबरजस्ती प्रवेश गर्ने प्रयास गर्दा रोक्न खोजेका सुरक्षाकर्मीमाथि ढुंगामुढा गरी समाचार कक्षसम्म आतंक सिर्जना गरिएको महासंघले जनाएको छ। साथै, हिमालयन टेलिभिजनको सवारी साधनमा समेत तोडफोड भएको छ।

नेपाल पत्रकार महासंघले प्रेस तथा पत्रकारमाथि भएको आक्रमणप्रति गम्भीर आपत्ति जनाउँदै यसलाई निन्दनीय, भर्त्सनायोग्य र प्रेस स्वतन्त्रतामाथिको प्रहार भएको बताएको छ। महासंघले आन्दोलनको नाममा पत्रकारको ज्यान जाने, प्रेसलाई आतंकित बनाउने र त्रसित गराउने कार्य कदापि स्वीकार्य नहुने बताउँदै दोषीलाई तत्काल कानुनी कारबाही गर्न सरकारसँग जोडदार माग गरेको छ।

महासंघले आन्दोलनकारी समूहका नाममा सञ्चालित यस्ता हिंसात्मक गतिविधि दोहोरिए लोकतन्त्र र प्रेस स्वतन्त्रताको पक्षमा संघर्ष गर्न बाध्य हुने चेतावनी पनि दिएको छ। साथै, महासंघले सञ्चारगृह र पत्रकारहरूलाई सुरक्षा प्रदान गर्न र क्षतिपूर्ति उपलब्ध गराउन सरकारलाई आग्रह गरेको छ।

दुर्घटनामा ज्यान गुमाएका पत्रकार सुरेश रजकप्रति श्रद्धाञ्जली अर्पण गर्दै महासंघले शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर