धनुषा, ९ बैशाख २०८२ – केही दिन अघि नेकपा माओवादी केन्द्र धनुषाधाम नगर कमिटीद्वारा मोटरसाइकल र्यालीसहित गरिएको शक्ति प्रदर्शनलाई जवाफ दिँदै नेपाली कांग्रेस धनुषाधाम नगर कार्यसमितिले जनजागरण अभियान संचालन गरेको छ।
कांग्रेसले नगरभरि परिक्रमा गर्दै किसानपुरमा कोण सभाको आयोजना गरी आफ्नो कार्यक्रम सम्पन्न गरेको हो। कोण सभामा बोल्दै वडाका निर्वाचित अध्यक्ष, वडा सभापति तथा नगरस्तरिय नेताहरूले कांग्रेस नेतृत्वको स्थानीय सरकारले जनचाहना अनुसार विकासका कामहरू गरिरहेको दाबी गरे।
नेताहरूले माओवादी केन्द्रमाथि नगरपालिकालाई बदनाम गराउने षड्यन्त्र गरिरहेको आरोप समेत लगाए। उनीहरूले आगामी दिनमा जनताको साथमा रही झूटको जवाफ सत्यबाट दिने चेतावनी समेत दिए।
कार्यक्रममा नेपाली कांग्रेसका स्थानीय नेताकार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको थियो भने कांग्रेसले आफ्नो संगठन सशक्त बनाउँदै जनताको पक्षमा निरन्तर उभिने प्रतिवद्धता जनायो।




