रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

राष्ट्रिय वाणिज्य बैंक धनुषाधाम शाखाको संयुक्त रूपमा उद्घाटन सम्पन्न

[sharethis-inline-buttons]

धनुषाधाम, जेठ १० – धनुषाधाम नगरपालिकाका नगरप्रमुख बालेश्वर मण्डलले राष्ट्रिय वाणिज्य बैंकको नयाँ शाखा संचालनमा आउँदा धनुषाधाम मात्र नभई आसपासका पालिकाका जनतालाई पनि सहज र सुलभ सेवा उपलब्ध हुने बताएका छन्। शनिबार आयोजित उद्घाटन समारोहमा प्रमुख अतिथि मण्डलले भने, “धनुषाधाम नगरपालिका अहिले विकासको चरणमा अगाडि बढिरहेको छ। यहाँ इलाका प्रशासन कार्यालय स्थापना हुँदैछ, अन्य संरचनात्मक विकास भइरहेको छ। यस्तो अवस्थामा राष्ट्रियस्तरको बैंकको उपस्थिति अझै अर्थपूर्ण छ।”

उनले बैंकलाई कृषि, शैक्षिक र व्यवसायिक कर्जामा विशेष ध्यान दिन आग्रह गर्दै थपे, “धनुषाधाम पर्यटकीय तथा कृषिमा समृद्ध नगरपालिका हो। किसान, विद्यार्थी र व्यवसायीलाई लक्षित कर्जा योजनाबाट विकासलाई थप गति दिन सकिन्छ। सेवा झन्झटिलो नहोस्, सहज र गुणस्तरीय होस् भन्ने हाम्रो अपेक्षा हो। बैंकलाई आवश्यक सबै सहयोग नगरपालिका तर्फबाट हुने छ।”

उक्त कार्यक्रम राष्ट्रिय वाणिज्य बैंक सञ्चालक समितिका अध्यक्ष दिलिप ढुंगानाको अध्यक्षतामा सम्पन्न भएको थियो। शाखाको उद्घाटन मेयर मण्डल र अध्यक्ष ढुंगानाले संयुक्त रूपमा गरेका थिए।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत देबेन्द्र रमण खनाल, वडा नं. ३ का अध्यक्ष जयनारायण यादव, २ का अध्यक्ष लक्षमी साह,ऋषि लामा,सुरज लामा,इन्द्रकुमार महतो,नेपाल राष्ट्र बैंक जनकपुरका प्रतिनिधि, राप्रपाका अध्यक्ष घनश्याम यादव, जनमत पार्टीका अध्यक्ष अमृत महतो, नेपाली कांग्रेस नगर समिति सभापति चन्द्रदीप यादव, नेकपा एमाले नगर अध्यक्ष योगकुमार यादव, नगरका सबै वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा अध्यक्षता गरेका दिलिप ढुंगानाले भने, “म यहीँ जन्मिएँ, पढेँ, खेलें, मकर मेला घुमें। यो मेरो घरजस्तो ठाउँमा शाखा खोल्न पाउनु गौरवको कुरा हो। यो ठाउँ कृषि र पर्यटनको हिसाबले सम्भावनायुक्त क्षेत्र हो। यस शाखाबाट वैदेशिक रोजगार कर्जा, कृषि कर्जा र मेरो घर कर्जाु सहज र सहुलियतपूर्ण दरमा उपलब्ध गराइनेछ।” उनले नजिकै भविष्यमा शाखाको आफ्नै भवन निर्माण गरिने प्रतिबद्धता पनि व्यक्त गरे।

समारोहमा सुरक्षा निकायका प्रमुख, उद्योग वाणिज्य संघ धनुषाधामका अध्यक्ष किशोरी ठाकुर , धार्मिक संस्थाका प्रतिनिधि, पत्रकार, स्थानीय अगुवा तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति थियो।

शाखा सञ्चालनसँगै धनुषाधाम र छिमेकी पालिकाका जनताले भरपर्दो, सरल र गुणस्तरीय बैंकिङ सेवा प्राप्त गर्ने विश्वास गरिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर