नेपाल नाई ट्रेड युनियनका पूर्व नगर अध्यक्ष शम्भु ठाकुरका पूजनीय पिता स्व. जैशि ठाकुरको ८१ वर्षको उमेरमा निधन भएको छ। स्व. ठाकुर जनकपुरधाम उपमहानगरपालिका वडा नं. १ का स्थायी बासिन्दा हुनुहुन्थ्यो।
उहाँको पार्थिव शरीरमा नेपाली कांग्रेसका पूर्व उपसभापति तथा प्रतिनिधिसभा सदस्य, नेपाल सरकारका पूर्व उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिसहित कांग्रेस नेताहरूले पार्टीको झण्डा ओढाई फूलमाला अर्पण गर्दै अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका छन्।
नेता निधिले स्व. ठाकुरलाई नेपाली कांग्रेसप्रति समर्पित असल पार्टी सिपाहीको रूपमा स्मरण गर्दै उहाँको आत्माको चिरशान्तिको कामना गर्नुभएको थियो। साथै, शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना पनि प्रकट गर्नुभएको छ।
स्व. ठाकुर सामाजिक तथा राजनीतिक जीवनमा अनुशासित, कर्मठ र इमानदार व्यक्तित्वका रूपमा चिनिनुहुन्थ्यो। उहाँको निधनले पार्टी र समाजलाई अपूरणीय क्षति पुगेको जनाइएको छ।




