धनुषा — सहिदनगर नगरपालिकाले पहिलोपटक नगरस्तरीय स्वास्थ्य बिमा कार्यक्रम सुरु गरेको छ। चालू आर्थिक वर्ष २०८१/८२ को वार्षिक कार्यक्रमअन्तर्गत सञ्चालन गरिएको यस योजनाबाट नगरका तीन सय विपन्न परिवारका १,५०० जना नागरिक प्रत्यक्ष लाभान्वित भएका छन्।
नगर प्रमुख दिनेशप्रसाद यादवका अनुसार हरेक परिवारका लागि तीन हजार पाँच सय रुपैयाँको दरले बिमा गरिँदा कार्यक्रमको कुल लागत करिब १० लाख ५० हजार रुपैयाँ पुगेको छ। बिमा कार्यक्रम विशेष गरी कमजोर आर्थिक अवस्था भएका परिवार लक्षित गरी अघि बढाइएको हो।
नगर प्रमुख यादवले भने, “स्वस्थ जीवन नै समृद्ध नगरको आधार हो। सबै नागरिकलाई स्वास्थ्य सेवा पहुँचमा ल्याउने हाम्रो प्रतिबद्धता हो।” उहाँका अनुसार आगामी वर्षहरूमा पनि यो कार्यक्रमलाई निरन्तरता दिइनेछ।
तपाईको प्रतिक्रिया




