जलेश्वर, महोत्तरी । पूर्वाधार विकास कार्यालय, जलेश्वर सम्बन्धी प्रसारित समाचारपछि महोत्तरीका पत्रकारहरूलाई लक्षित गर्दै सामाजिक सञ्जालमा भइरहेका आधारहीन टिप्पणी र आरोपप्रति नेपाल पत्रकार महासंघ महोत्तरी, प्रेस युनियन, प्रेस चौतारी, प्रेस सेन्टर नेपाल तथा प्रेस मंच नेपाल महोत्तरीको गम्भीर ध्यानाकर्षण भएको छ।
संयुक्त रुपमा पाँचवटै पत्रकार संगठनले प्रेस विज्ञप्ति जारी गर्दै समाचार संकलन र प्रकाशनका आफ्नै प्रक्रिया, कोण र प्रस्तुती हुने कुरा स्मरण गराउँदै जिल्लामा क्रियाशील पत्रकारहरूको व्यवसायिक निष्ठामाथि प्रश्न उठाउने कार्यलाई समग्र पत्रकारिता पेशामाथिको नियोजित आक्रमणु भनेका छन्।
सामुदायिक प्रसारक संघ (अकोराब) मधेश प्रदेशकी अध्यक्ष उपासना तिवारीमाथि सामाजिक सञ्जालमा गरिएको निकृष्ट टिप्पणी र चरित्र हत्या गर्ने शैलीमा प्रस्तुत आरोपहरू निन्दनीय रहेको संयुक्त विज्ञप्तिमा उल्लेख छ।
पत्रकार महासंघ महोत्तरीका अध्यक्ष महेश कुमार दास, प्रेस युनियनका अध्यक्ष सन्तोष कुमार सिंह, प्रेस चौतारी नेपालका अध्यक्ष राम नारायण महतो, प्रेस सेन्टर नेपालका अध्यक्ष विशाल बस्नेत र प्रेस मंच नेपालका अध्यक्ष अरविन्द कुमार झाले हस्ताक्षर गरेको उक्त विज्ञप्तिमा भनिएको छ — “समाजमा सामाजिक सद्भाव कायम राख्न सबै जिम्मेवार हुनुपर्छ। सामाजिक सञ्जालमा व्यक्त हुने विचार र टिकाटिप्पणी तथ्यमा आधारित र मर्यादित हुन आवश्यक छ।”
संगठित पत्रकार समूहले सरोकारवाला निकायलाई यस्ता घटनाप्रति समयमै संवेदनशील भई आवश्यक पहल गर्न समेत आग्रह गरेका छन्। साथै, आगामी दिनमा सामाजिक सञ्जालमा हुने आरोप–प्रत्यारोप र अविवेकी टिप्पणीकै कारण सामाजिक सद्भावमा खलल पुग्न सक्ने भन्दै समयमै सजग र सचेत रहन सबैलाई अपिल गरिएको छ।




