धनुषाधाम, धनुषा – धनुषाधाम नगरपालिका–३ स्थित ऐतिहासिक मकर मेलामा लाखौं श्रद्धालु भक्तजनको भीड लागेको छ। मेलामा आउने भक्तजनलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले धनुषाधाम नगरपालिकाले हरेक दिन निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिरहेको छ।
प्राथमिक स्वास्थ्य केन्द्र धनुषाधामका प्रमुख अरुण कुमार मण्डलका अनुसार स्वास्थ्य शिविरमा हालसम्म ३०० भन्दा बढी भक्तजनलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्य राखिएको छ। शिविरमा प्रवीण झा, शशि कुमारी कर्ण, मदन ठाकुरलगायतका स्वास्थ्यकर्मीहरू भक्तजनलाई आवश्यक प्राथमिक उपचार तथा परामर्श सेवा दिइरहेका छन्।
मकर मेलाका क्रममा धनुष मन्दिरमा दर्शन गर्न आउने भक्तजनको अत्यधिक भिड हुने भएकाले नगरपालिकाले स्वास्थ्य शिविर सञ्चालन गरेको हो। मेलामा सहभागी भक्तजनलाई स्वास्थ्य सेवा उपलब्ध गराउन स्थानीय प्रशासन, स्वयंसेवक र स्वास्थ्यकर्मीहरू खटिएका छन्।
नगरपालिकाका अनुसार मेलाका क्रममा स्वास्थ्यसम्बन्धी कुनै गम्भीर समस्या उत्पन्न भएमा तत्काल अस्पताल रेफर गर्नसमेत तयारी गरिएको छ। श्रद्धालु भक्तजनले स्वास्थ्य शिविरको सेवाबाट राहत महसुस गरेको जनाएका छन्।




