रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

देशभर श्रीपञ्चमी एवं सरस्वती पूजा हर्षोल्लासका साथ मनाइँदै

[sharethis-inline-buttons]

कमल नयन भट्टराई ,जनकपुरधाम – प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी पर्व आज जनकपुरधाम,धनुषाधाम सहित देशभर हर्षोल्लासका साथ मनाइँदै छ। विद्या र सिर्जनाकी देवी सरस्वतीको पूजा–आराधना गरी विशेषगरी विद्यार्थी, शिक्षक, साहित्यकार, कलाकार तथा पत्रकारहरूले यो पर्व श्रद्धाका साथ मनाउने गर्छन्।

विद्यालय, कलेज तथा शिक्षण संस्थाहरूमा विशेष पूजा गरिँदै, पुस्तक, कलम, कापी, कुची र वाद्ययन्त्रहरूलाई सरस्वतीको प्रतीक मानी पूजन गरिन्छ। तान्त्रिक विधिअनुसार कतिपय स्थानमा सरस्वतीलाई तारादेवीका रूपमा आराधना गरिन्छ।

आजकै दिनलाई वसन्त ऋतुको आगमनको प्रतीक मानिँदै ‘वसन्त पञ्चमी’ समेत भनिन्छ। सूर्य उत्तरायण भई दिन लामो हुन सुरु गर्ने विश्वाससहित यो पर्व प्रकृति, ज्ञान र सृजनासँग सम्बन्धित रूपमा मनाइन्छ।

वैदिक ग्रन्थ ऋग्वेदमा वाग्देवीका रूपमा वर्णित सरस्वती देवी ब्रह्माकी अर्धाङ्गिनी ब्रह्मायणी हुन्। गान्धर्व पुराणअनुसार, श्रीपञ्चमीका दिन सरस्वती पूजाका साथ विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुने विश्वास छ।

यस अवसरमा आज विभिन्न स्थानमा सरस्वती मन्दिरहरूमा ठूलो भीड लागेको छ। विशेषगरी शिक्षण संस्थाहरूमा विद्यार्थीहरूले विधिपूर्वक पूजाआजा गर्दै देवी सरस्वतीसँग ज्ञान, बुद्धि र सृजनात्मक शक्तिको कामना गरिरहेका छन्।

यसै दिन बालबालिकालाई पहिलोपटक अक्षर लेखाउने ९विद्यारम्भ० परम्परा छ, भने कतिपय ठाउँमा नाक, कान छेड्ने, व्रतबन्ध, विवाह तथा अन्य धार्मिक कार्यहरू साइत नहेरी सम्पन्न गरिन्छन्।

देशभर शिक्षण संस्थाहरू, मन्दिर तथा सांस्कृतिक केन्द्रहरूमा विविध कार्यक्रमसहित श्रीपञ्चमी पर्व उल्लासपूर्वक मनाइएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर