जनकपुरधाम, फागुन ९ – नेपाल शिक्षक महासंघ धनुषाको आयोजनामा शिक्षा सुधार र शिक्षक हकहितका माग राख्दै सयौं शिक्षकले प्रदर्शन गरेका छन्। केन्द्रिय सर्कुलेशनअनुसार आयोजना गरिएको उक्त आन्दोलन अन्तर्गत शिक्षक महासंघ धनुषाका अध्यक्ष सुरेश यादवको नेतृत्वमा शिक्षा विकास तथा समन्वय इकाइ धनुषाका निमित्त प्रमुख प्रतिभा साहलाई ध्यानाकर्षण पत्र बुझाइएको छ।
जनकपुरधाम रेल्वे स्टेसनबाट सुरु भएको जुलुस शिक्षा विकास तथा समन्वय इकाइ धनुषाको प्राङ्गणमा कोणसभामा परिणत भएको थियो। शिक्षक महासंघका नेताहरूको विशेष उपस्थितिमा आयोजित कोणसभामा शिक्षासम्बन्धी नीति, शिक्षक हकहित, सेवा सुविधासम्बन्धी मागहरू उठाइएको थियो।
शिक्षक महासंघका नेताहरूले विगतमा सरकारसँग भएका सम्झौताहरू तत्काल कार्यान्वयन गर्न आग्रह गरेका छन्। मागहरू सम्बोधन नभएमा चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनीसमेत दिएका छन्।
उक्त आन्दोलनले शिक्षकहरूको एकता, पेशागत अधिकार र शिक्षाको गुणस्तर सुधारप्रति सरकारको ध्यानाकर्षण गराउने अपेक्षा गरिएको छ।




