काठमाडौं, चैत १५ – कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटलाई लुटपाट र तोडफोडबाट जोगाउने सुरक्षागार्डलाई विशेष सम्मान गरिएको छ। भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले सुरक्षागार्ड दुलप्रसाद पराजुलीलाई नगद पुरस्कारसहित सम्मान गरेका हुन्।
बुधबार आयोजित कार्यक्रममा सञ्चालक गुरुङले पराजुलीलाई पाँच लाख एक हजार १११ रुपैयाँ नगद पुरस्कार प्रदान गरेका थिए। साथै, उनको पाँच ग्रेड बढुवा समेत गरिएको छ।
पराजुलीको सतर्कता र बहादुरीका कारण भाटभटेनी सुपरमार्केट लुटपाट र तोडफोडबाट जोगिएको थियो। उनको साहसिक कार्यको कदर गर्दै सुपरमार्केट प्रशासनले यो सम्मान प्रदान गरेको हो।
सम्मान कार्यक्रममा बोल्दै सञ्चालक गुरुङले पराजुलीको बहादुरी प्रशंसनीय रहेको भन्दै आगामी दिनमा पनि सुरक्षा व्यवस्था मजबुत बनाउन ध्यान दिने बताए।
पराजुलीले आफूले आफ्नो कर्तव्य निर्वाह गरेको मात्र बताएका छन्। उनले आगामी दिनमा पनि आफ्नो जिम्मेवारीमा कुनै कमी आउन नदिने प्रतिबद्धता जनाए।




