३० चैत, काठमाडौं ।सामाजिक सञ्जाल फेसबुकमार्फत शिक्षक आन्दोलनबारे आफ्ना धारणा प्रस्तुत गर्दै महामन्त्री थापाले कानून नबनाएरै माग पूरा गर्न सकिने बताएका छन् । नयाँ शैक्षिक सत्र नजिक आइसकेकोले तत्काल मन्त्रिपरिषद् बैठकबाट शिक्षकका मागबारे निर्णय गरेर उनीहरुलाई विद्यालयमा फर्काउनु पर्ने विकल्प उनले दिएका छन् । शिक्षकहरुका केही माग सम्बन्धित मन्त्रालयले नै निर्णय गरेर सम्बोधन गर्न सक्ने उनको भनाइ छ । मन्त्रिपरिषद्ले निर्णय गरेर केही माग सम्बोधन गर्न सकिन्छ । यसलाई आजै मन्त्रिपरिषद्ले निर्णय गर्नुपर्छ । कतिपय सम्बन्धित मन्त्रालयले निर्णय गरेर गर्न सकिने कामहरू छन् । यो कामलाई तत्काल गरौं , उनले भनेका छन् ।
शिक्षकको मुख्य माग शिक्षा ऐन जारीको विषयमा महामन्त्री थापाले आगामी बर्खे अधिवेशनको सुरुमै विधेयक पारित गर्ने गरी समझदारी गर्न सरकारलाई सुझाव दिएका छन् । यसले विश्वासको वातावरण बन्ने र विधेयक फास्टट्रयाकबाट पारित गर्नुपर्ने उनले बताए । विधेयकका विषयवस्तुबारे भने यसअघि नै सहमति भइसकेको उनले स्मरण गराएका छन् । नतिजा प्रकाशन गर्नुपर्ने र नयाँ शैक्षिक सत्र सुरु हुनेबेलामा शिक्षकहरु सडक आन्दोलनमा आउनु लज्जास्पद भएको बताउँदै थापाले तत्काल सरकारले यसको टुंगो लगाउनु पर्ने माग गरेका छन् । ‘चाँडोभन्दा चाँडो उहाँहरुलाई कक्षा कोठामा फिर्ता गराउनुपर्छ, उनले भने, ‘यसले शैक्षिक सत्रलाई नराम्रोसँग प्रभावित गर्छ । खास गरी प्रधानमन्त्री र सरकारमा बसेका साथीहरुलाई अझ बढी जिम्मेवारी बोध गर्नुपर्छ । उनले शिक्षकहरूलाई पनि अहिलेको समयको संवेदनशीलतालाई बुझ्दिन आग्रह गरेका छन् ।




