धनुषा, चैत ३० — धनुषधाम नगरपालिका–७ स्थित सरस्वतीपुरमा नयाँ पुलको शिलान्यास गरिएको छ। मधेस प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलले पुलको शिलान्यास गर्दै अबको केही समयमै स्थानीयवासीको यातायात समस्याको अन्त्य हुने विश्वास व्यक्त गर्नुभयो।
विगत धेरै वर्षदेखि पुलको अभावमा सरस्वतीपुर र आसपासका बासिन्दा वर्षायाममा बाढी र जोखिमका कारण समस्यामा पर्दै आएका थिए। विशेष गरी बालबालिका, वृद्धवृद्धा तथा बिरामीको हिँडडुलमा कठिनाइ हुन्थ्यो।
पुल निर्माण सुरु भएको खबरले गाउँमा उत्साहको माहोल सिर्जना भएको छ। स्थानीय युवा सत्यनारायण दास भन्छन्, “पुल नहुदा हामीले निकै दुःख पायौं। अहिले पुल बन्ने भएपछि हामी सबै खुसी छौं। यो हामी सबैको सपना जस्तै हो।”
सभामुख मण्डलले पुल सम्पन्न भएपछि दैनिक जीवन सहज हुने र सामाजिक तथा आर्थिक गतिविधिमा समेत सुधार आउने विश्वास व्यक्त गर्नुभयो। उहाँले निर्माण कार्य गुणस्तरीय र समयमै सम्पन्न गरिने प्रतिबद्धता पनि जनाउनुभयो।




