रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

टुप्पीबाट चिनिएका सांसद महोत्तरी–३ का उज्ज्वल कुमार झाको छुट्टै पहिचान

[sharethis-inline-buttons]

महोत्तरी निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य उज्ज्वल कुमार झाले आफ्नो विशिष्ट शैलीका कारण राष्ट्रिय स्तरमै छुट्टै पहिचान स्थापित गर्न सफल भएका छन्। सुरुका दिनमा उनले टाउकोमा राख्ने करिब डेढ फिट लामो टुप्पी (टिकी)लाई लिएर विभिन्न टिकाटिप्पणी भए पनि अहिले त्यही टुप्पी नै उनको परिचय बनेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाडौँमा आयोजना गरेको दुई दिने अभिमुखीकरण कार्यक्रममा सहभागी हुन पुगेका झाको टुप्पीले सबैको ध्यान तानेको थियो। कार्यक्रमस्थलमा उनी गाडीबाट ओर्लिएलगत्तै अधिकांश सञ्चारकर्मीको क्यामेरा उनको टुप्पीतर्फ केन्द्रित भएको थियो।
हाल उनका टुप्पीसहितका तस्वीरहरू विभिन्न अनलाइन सञ्चारमाध्यममा आकर्षक सामग्रीका रूपमा सार्वजनिक भइरहेका छन्। यसै कारण, धेरैले उनलाई नामभन्दा पनि “टुप्पी सांसद” भनेर चिन्ने गरेका छन्।
झाले शौखका रूपमा टुप्पी पालेका हुन्। निर्वाचनका क्रममा घरदैलो अभियानमा जाँदा पनि मतदाताका लागि उनको यो शैली नौलो र आकर्षणको केन्द्र बनेको थियो।
इतिहासतर्फ फर्किँदा पञ्चायतकालमा महोत्तरीका कुलानन्द झाको पहिचान हातमा बोकेको लौरो थियो भने अहिले उनका नाति उज्ज्वल कुमार झाको पहिचान टुप्पी बनेको छ।
महोत्तरी–३ मा आफ्ना निकटतम प्रतिद्वन्द्वीभन्दा झण्डै तेब्बर मत ल्याएर विजयी भएका झाले अहिले काठमाडौँमा पनि आफ्नो टुप्पीकै कारण सबैको ध्यान तान्दै छुट्टै पहिचान स्थापित गर्न सफल भएका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर