महोत्तरी, — महोत्तरी निर्वाचन क्षेत्र नं. १ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट नवनिर्वाचित प्रतिनिधि सभा सदस्य प्रमोद महतोले पत्रकारहरूप्रति अपमानजनक अभिव्यक्ति दिएको घटना सार्वजनिक भएको छ।
गौशाला नगरपालिका–३ स्थित निगौल गाई गौशालामा शुक्रबार दिउँसो भएको निरीक्षण तथा अनुगमनपछि सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिने क्रममा सांसद महतोले यस्तो अभिव्यक्ति दिएका हुन्।
पत्रकारहरूले निर्वाचन क्षेत्र नं. १ मा भइरहेको अवैध क्रसर सञ्चालन तथा खोला उत्खननबारे प्रश्न राख्दा उनले “पहिले स्वतन्त्र नागरिक भएर आउनुस, अनि मात्र प्रश्न गर्नुस” भन्दै मिडियाप्रति असहज र होच्याउने शैलीमा प्रतिक्रिया दिएका थिए।
यस विषयमा कान्तिपुर टेलिभिजनका पत्रकार विकास ठाकुरले लोकतन्त्रमा जननिर्वाचित प्रतिनिधिलाई प्रश्न सोध्न पत्रकारले नागरिकता बोकेर जानुपर्ने जस्तो व्यवहार हुनु दुःखद भएको बताए। उनले भने, “एउटा सञ्चारकर्मीले प्रश्न गर्दा प्रतिनिधि सभा सदस्यले नागरिक भएर आउन भन्नुहुन्छ भने सर्वसाधारणले उहाँसँग के अपेक्षा राख्ने?”
पत्रकार ठाकुरका अनुसार, क्रसर र खोला उत्खननबारे जिज्ञासा राख्दा सांसद महतोले उत्तर दिनुको साटो उल्टै सञ्चारमाध्यमबारे प्रतिप्रश्न गर्दै जिम्मेवारीबाट पन्छिने प्रयास गरेका थिए।
स्मरण रहोस्, फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा रास्वपाबाट उम्मेदवार बनेका महतो सो क्षेत्रमा विजयी भएका थिए। यसअघि उनी क्रसर व्यवसायसँग पनि जोडिएका थिए।
गौशाला नगरकार्यपालिकाको २०८२ जेठ २३ गतेको निर्णयअनुसार, महतोको श्रीमतीको नाममा दर्ता रहेको शिवम गिटी तथा बालुवा वासिङ सेन्टरले गौशाला नगरपालिका–८ भण्टावारी नजिकको खोलाबाट २ लाख २५ हजार घनमिटर अवैध उत्खनन गरेको निष्कर्ष निकालिएको थियो। उक्त कार्यबापत मूल्य अभिवृद्धि करसहित करिब ४ करोड ५० लाख रुपैयाँ जरिवाना असुल गर्ने र व्यवसाय दर्ता प्रमाणपत्र समेत रद्द गर्ने निर्णय सार्वजनिक गरिएको थियो।
यसैबीच, नेपाल पत्रकार महासंघ महोत्तरी शाखाले उक्त घटनाप्रति गम्भीर आपत्ति जनाएको छ। शाखा अध्यक्ष महेशकुमार दासले जननिर्वाचित प्रतिनिधिले गरिमामय पदको मर्यादा राख्दै पत्रकारका प्रश्नहरूको सम्मानपूर्वक उत्तर दिनुपर्ने बताउँदै अपमानजनक अभिव्यक्ति गैरजिम्मेवारपूर्ण भएको टिप्पणी गरेका छन्।
सांसद प्रमोद महतोद्वारा पत्रकारमाथि अपमानजनक अभिव्यक्ति, महासंघको आपत्ति
तपाईको प्रतिक्रिया
सम्बन्धित खबर





