काठमाडौं, १५ चैत। जेनजी आन्दोलनमा दमन गरेको आरोपमा पक्राउ परेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक लाई आज काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइँदै छ।
शनिबार सार्वजनिक बिदा परेकाले उनीहरूलाई अदालत उपस्थित गराइएको थिएन। प्रहरीले आज अदालत खुल्नासाथै दुवै जनालाई उपस्थित गराउने तयारी गरेको जनाएको छ।
गत भदौ २३–२४ मा भएको जेनजी आन्दोलन हिंसात्मक बन्दा तीन जना प्रहरीसहित ७६ जनाको मृत्यु भएको थियो भने दुई हजार चार सयभन्दा बढी घाइते भएका थिए। सो क्रममा सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, राष्ट्रपति भवन, प्रहरी कार्यालय तथा निजी सम्पत्तिमा आगजनी, तोडफोड र लुटपाटसमेत भएको थियो।
घटनाबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले ओली र लेखकसहित जिम्मेवार पदाधिकारीहरूलाई दोषी ठहर गर्दै कारबाही सिफारिस गरेको थियो। त्यसैका आधारमा सरकारले प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गर्दै उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउपछि ओलीलाई स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल मा भर्ना गरिएको छ भने लेखकलाई महाराजगञ्जस्थित प्रहरीको २ नम्बर गणमा राखिएको छ।
दुवै नेता पक्राउ परेपछि काठमाडौं उपत्यकासहित विभिन्न जिल्लामा विरोध प्रदर्शन भइरहेका छन्। अदालत पेशीका क्रममा सुरक्षा व्यवस्था कडा पारिएको छ।





