काठमाडौं, १५ चैत । केपी शर्मा ओली र रमेश लेखक लाई थुनामा राखेर अनुसन्धान अघि बढाउन काठमाडौं जिल्ला अदालतले ५ दिन म्याद थपको अनुमति दिएको छ।
आइतबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश आनन्दप्रसाद श्रेष्ठ को इजलासले उक्त आदेश दिएको हो। अदालतका सूचना अधिकारी दीपक कुमार श्रेष्ठ का अनुसार सरकारी वकिलले १० दिनको म्याद माग गरे पनि अदालतले ५ दिन मात्र स्वीकृत गरेको हो।
गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनका क्रममा भएको दमनबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले ओली र लेखकविरुद्ध फौजदारी मुद्दा चलाउन सिफारिस गरेको थियो।
सोही सिफारिसका आधारमा शनिबार बिहान प्रहरीले दुवै जनालाई पक्राउ गरेको हो। अदालतमा उपस्थितिका क्रममा लेखक स्वयं उपस्थित भएका थिए भने बिरामी रहेका ओली त्रिवि शिक्षण अस्पताल बाट भर्चुअल माध्यममार्फत उपस्थित भएका थिए।