काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गतको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि धनुषासहित देशभर एकैसाथ सुरु भएको छ । पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा सञ्चालन हुँदैछ ।
यस वर्षको परीक्षामा विगतभन्दा फरक ढंगले व्यवस्थापन सुधार गर्ने प्रयास गरिएको छ । बोर्डले परीक्षा प्रणालीलाई थप व्यवस्थित, प्रविधिमैत्री र नतिजामुखी बनाउन विशेष रणनीति लागू गरेको जनाएको छ ।
यस पटक देशभर तथा वैदेशिक केन्द्रसहित ५ लाख १२ हजारभन्दा बढी विद्यार्थी सहभागी भएका छन् । परीक्षा सकिएको एक महिनाभित्रै नतिजा सार्वजनिक गर्ने लक्ष्यसहित उत्तरपुस्तिका परीक्षण प्रणालीमा समेत परिवर्तन गरिएको छ ।
सस्मित पोखरेल नेतृत्वको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय ले नतिजा ढिलाइले विद्यार्थीमा पर्ने असरलाई ध्यानमा राख्दै छिटो नतिजा ल्याउने नीति अघि बढाएको हो ।
यसअन्तर्गत अब उत्तरपुस्तिका परीक्षण विकेन्द्रीकरण गरिएको छ । पहिले जस्तै एक प्रदेशको उत्तरपुस्तिका अर्को प्रदेशमा पठाउने प्रचलन हटाएर, परीक्षा भएको क्षेत्रमै परीक्षण गर्ने व्यवस्था गरिएको छ ।
एसईईका परीक्षा नियन्त्रक टुकराज अधिकारी का अनुसार यस व्यवस्थाले समय बचत हुनुका साथै स्थानीय शिक्षकको सक्रियतामा काम छिटो सम्पन्न हुने अपेक्षा गरिएको छ ।
यद्यपि, सुरक्षा र निष्पक्षतामा कुनै कमी नआओस् भनेर बोर्डले विशेष सावधानी अपनाएको छ । शिक्षक अभाव वा संवेदनशील केन्द्रका उत्तरपुस्तिका आवश्यक परे अन्य सुरक्षित स्थानमा सारिने व्यवस्था गरिएको छ ।
यस वर्ष २ लाख ५७ हजारभन्दा बढी छात्रा र २ लाख ५४ हजारभन्दा बढी छात्र सहभागी छन् भने ७ जना अन्य लिङ्गी विद्यार्थी पनि परीक्षामा सहभागी छन् । छात्राको संख्या बढी हुनु महिला शिक्षामा बढ्दो पहुँचको संकेतका रूपमा लिइएको छ ।
वैदेशिकतर्फ जापान मा रहेको एभरेस्ट स्कुलबाट २३ जना विद्यार्थी परीक्षामा सहभागी हुँदैछन् । समय व्यवस्थापन मिलाएर त्यहाँ पनि परीक्षा सञ्चालन गरिएको छ ।
देशभर तथा जापानसहित कुल १ हजार ९ सय ६६ परीक्षा केन्द्रबाट एसईई सञ्चालन भइरहेको छ । नयाँ प्रणालीले नतिजा छिटो ल्याउने र परीक्षा व्यवस्थापन थप प्रभावकारी बनाउने विश्वास गरिएको छ ।





