धनुष टिभी, जनकपुरधाम ।
धनुषाधाम नगरपालिकाको स्थानीय राजनीतिमा नयाँ तरंग पैदा भएको छ। नेकपा एमाले धनुषाधाम नगर कमिटीका नगर अध्यक्षसहित विभिन्न तहका दर्जनौँ नेता तथा कार्यकर्ताले पार्टीको साधारण सदस्यसमेत नरहने गरी सामूहिक राजीनामा दिएका छन् भने राजीनामालगत्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्।
एमाले जिल्ला समिति धनुषाका अध्यक्षलाई सम्बोधन गर्दै पेश गरिएको राजीनामा पत्रमा उनीहरूले आजकै मितिबाट लागू हुने गरी पार्टीसँगको सम्पूर्ण सम्बन्ध अन्त्य गरेको उल्लेख गरेका छन्।
राजीनामा दिने तथा रास्वपामा प्रवेश गर्नेहरूमा नगर अध्यक्ष योग कुमार यादव, जिल्ला सदस्य देव नारायण यादव, लेखा समिति सदस्य पवन देवी, नगर सह–सचिव विनोद कुमार यादव, नगर महिला उपाअध्यक्ष मञ्जु महतो, राष्ट्रिय युवा संघ मधेश प्रदेश संयोजक इन्चार्ज राम उद्गार यादव, युथ फोर्स धनुषा प्रमुख आदेश कुमार यादव, मुक्ति समाज क्षेत्रीय अध्यक्ष कुसुमी देवी पासमान, वडा नं. ४ का पार्टी अध्यक्ष त्रिभुवन कापर, महेश कुमार साह, वडा नं. २ का उपाध्यक्ष नट्टा राई अमात, विरुदेव कुमार शर्मा तथा परमेश्वर महतो लगायत रहेका छन्।
उनीहरू जनकपुरधामस्थित रास्वपा पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा रास्वपामा प्रवेश गरेका हुन्। कार्यक्रममा रास्वपा जिल्ला सभापति लक्ष्मेश्वर यादव, प्रतिनिधि सभा उम्मेदवार किशोरी साह कमल तथा संगठन विभाग प्रमुख अम्बु प्रसाद साहसहितका नेताहरूको उपस्थितिमा नवप्रवेशीहरूलाई स्वागत गरिएको थियो।
राजीनामा पत्रको बोधार्थ नेकपा एमाले मधेश प्रदेश समिति जनकपुरधाम, नेकपा एमाले केन्द्रीय समिति काठमाडौं तथा पार्टी अध्यक्षसमक्ष समेत पठाइएको जनाइएको छ।
एमाले परित्याग गर्दै अध्यक्षसहित दर्जनौँ नेता रास्वपामा प्रवेश
तपाईको प्रतिक्रिया
सम्बन्धित खबर





