अनिलकुमार निराला, धनुष टिभी, जनकपुरधाम।
धनुषाको जनकपुरधामस्थित समर हस्पिटलमा उपचारका क्रममा एक सुत्केरी महिलाको मृत्यु भएपछि घटनाले व्यापक चर्चा पाएको छ। मृतक नगराईन नगरपालिका–३ फुल्गामाकी २३ वर्षीया अञ्जली मुखिया रहेको परिवारले जनाएको छ।
परिवारका अनुसार सुत्केरी गराउन अस्पतालमा भर्ना भएकी अञ्जलीको मंगलबार शल्यक्रिया गरिएको थियो। शल्यक्रियापछि अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको भन्दै परिवारले चिकित्सकीय लापरवाही भएको आरोप लगाएको छ। मृतकका पति करण मुखियाले अपरेशनका क्रममा गम्भीर त्रुटि भएको दाबी गर्दै निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गरेका छन्।
यता अस्पताल पक्षले भने लापरवाहीको आरोप अस्वीकार गरेको छ। अस्पतालका डाक्टर सुधीर यादव का अनुसार बिरामी अस्पताल आउँदा नै अवस्था जटिल थियो र रक्तचाप (प्रेसर) अत्यधिक बढेको थियो। उपचारपछि अवस्था सामान्य बनेपछि बिरामीका आफन्तको सहमतिमा शल्यक्रिया गरिएको उनले बताए।
डाक्टर यादवका अनुसार शल्यक्रियापछि बिरामीको अवस्था सामान्य नै रहेको थियो। तर केही समयपछि अचानक रक्तचाप बढ्नुका साथै बान्ताबाट रगत आउन थालेपछि अवस्था गम्भीर बनेको थियो। त्यसपछि थप उपचारका लागि बिरामीलाई विराटनगर रेफर गरिएको उनले जानकारी दिए।
घटनापछि मृतकका आफन्त तथा स्थानीयवासीले अस्पताल प्रशासनविरुद्ध आक्रोश व्यक्त गर्दै निष्पक्ष छानबिनको माग गरेका छन्। एकातर्फ परिवारले चिकित्सकीय लापरवाहीको आरोप लगाएको छ भने अर्कोतर्फ अस्पतालले बिरामीको अवस्था सुरुदेखि नै जटिल रहेको दाबी गरेको छ। घटनाको वास्तविकता छानबिनबाट मात्र स्पष्ट हुने देखिएको छ।
सुत्केरीको मृत्युपछि समर हस्पिटल विवादमा, परिवारको लापरवाही आरोप र अस्पतालको स्पष्टीकरण
तपाईको प्रतिक्रिया
सम्बन्धित खबर






