कञ्चन कुमारी ठाकुर
धनुष टिभी, धनुषा।
धनुषाको धनुषाधाम नगरपालिकाका नगर प्रमुख बालेश्वर मण्डल ले साउनको दोस्रो सातादेखि नगरपालिकाको कार्यालय आफ्नै भवनमा सारिने बताएका छन्। धनुषाधाम नगरपालिकाको १८औँ नगरसभामा शुभकामना मन्तव्य राख्दै उनले हाल धर्मशाला भवनबाट सञ्चालन हुँदै आएको नगरपालिका अब आफ्नै प्रशासनिक भवनमा सर्ने जानकारी दिएका हुन्।
मेयर मण्डलले आफूले नगरको नेतृत्व सम्हालेको समय र वर्तमान अवस्थाबीच ठूलो परिवर्तन आएको दाबी गर्दै कृषि, स्वास्थ्य, सडक तथा पूर्वाधार क्षेत्रमा उल्लेखनीय काम भएको बताए। हरेक वडामा स्वास्थ्य चौकी निर्माण, सडक विस्तार तथा कृषि क्षेत्रको विकासका लागि विभिन्न योजनाहरू कार्यान्वयन गरिएको उनको भनाइ थियो।
“हामीले धेरै काम गरेका छौं, तर पनि केही भएन भन्नेहरू छन्। विरोध गर्नु विपक्षीको काम हो, उनीहरू जस्तोसुकै अवस्थामा पनि विरोध गरिरहन्छन्,” उनले भने।
उनले राष्ट्रिय योजना आयोगमा पहल गरी करोडौं रुपैयाँ बजेट ल्याउन सफल भएको उल्लेख गर्दै निर्माण सम्पन्नतर्फ उन्मुख नगरपालिकाको आफ्नै भवनमा साउनको दोस्रो सातादेखि सेवा प्रवाह सुरु गरिने बताए। साथै धनुषधामस्थित धनुष मन्दिरको विकासका लागि पनि राष्ट्रिय सभा सदस्य आनन्द प्रसाद ढुंगानाको पहलमा करोडौं रुपैयाँ बजेट प्राप्त भएको र यस वर्ष मन्दिर क्षेत्रको विकासले गति लिने विश्वास व्यक्त गरे।
नगरसभामा स्वरोजगार शाखा प्रमुख अनिलकुमार यादव ले स्वागत मन्तव्य राखेका थिए भने विभिन्न शाखाका प्रमुखहरूले आ–आफ्नो क्षेत्रसँग सम्बन्धित योजना, कार्यक्रम तथा बजेट प्रस्तुत गरेका थिए।
नगरसभामा आर्थिक वर्ष २०८३/०८४ का लागि ५७ करोड २० लाख ४ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरिएको छ। कार्यक्रममा नगर उपप्रमुख विद्या देवी भुजेल, प्रमुख प्रशासकीय अधिकृत मीन बहादुर भट्टराई, कार्यपालिका सदस्य, कर्मचारी, पत्रकार, सुरक्षाकर्मी तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो।
अन्त्यमा मेयर मण्डलले नगरसभाबाट पारित नीति तथा कार्यक्रम प्रभावकारी कार्यान्वयन गर्न सबै पक्षलाई आग्रह गर्दै सम्पूर्ण नगरवासीको सुख, शान्ति र समृद्धिको कामना गरेका थिए।






