रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

मिथिला बिहारी नगरपालिकाको १२औँ नगरसभामा कृषि, शिक्षा, स्वास्थ्य र प्रविधिलाई प्राथमिकता

[sharethis-inline-buttons]

कञ्चन कुमारी ठाकुर, धनुष टिभी, धनुषा

धनुषा, असार ८ — मिथिला बिहारी नगरपालिकाको १२औँ नगरसभामा आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि नीति तथा कार्यक्रम तथा बजेट प्रस्तुत गरिएको छ। नगरसभा अध्यक्ष तथा नगर प्रमुख राजेन्द्रप्रसाद यादवको अध्यक्षतामा सम्पन्न सभामा उपप्रमुख शोभादेवी साहले नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन्।
“उत्पादनमुखी अर्थतन्त्र, दिगो पूर्वाधार, सक्षम जनशक्ति, सुशासन र प्रविधिले समृद्ध मिथिला बिहारी” भन्ने मूल नारासहित प्रस्तुत नीति तथा कार्यक्रममा कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार, पर्यटन, सूचना प्रविधि, सामाजिक समावेशीकरण तथा सुशासनलाई प्राथमिकतामा राखिएको छ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत उपेन्द्र न्यौपाने, कार्यपालिका सदस्यहरू, वडा सदस्यहरू, पूर्व मेयर अनिलकुमार यादव, विभिन्न राजनीतिक दलका नगर संयोजक, नागरिक समाजका प्रतिनिधि, सञ्चारकर्मी, सुरक्षा निकायका प्रतिनिधि तथा कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
नीति तथा कार्यक्रममा “एक वडा एक उत्पादन” अवधारणाअन्तर्गत कृषि तथा पशुपालनको व्यवसायीकरण, शीत भण्डार स्थापना, किसानलाई कृषि विद्युत अनुदान, महिला किसानलाई विशेष सहुलियत तथा युवालाई कृषि उद्यममा आकर्षित गर्ने कार्यक्रम समावेश गरिएको छ।
शिक्षातर्फ विद्यालय सुधार योजना, कक्षा १ देखि ३ सम्म अंग्रेजी माध्यमबाट पठनपाठन, विद्यालय तथा स्वास्थ्य संस्थामा CCTV जडान, उत्कृष्ट विद्यार्थीलाई ल्यापटप तथा छात्रवृत्ति, ICT ल्याब र स्मार्टबोर्ड व्यवस्थापन गर्ने योजना अघि सारिएको छ। स्वास्थ्य क्षेत्रमा १५ शैय्याको नगर अस्पताल निर्माण, बर्थिङ सेन्टर विस्तार, स्वास्थ्य बीमामा ५० प्रतिशत अनुदान तथा घरदैलो स्वास्थ्य सेवाका कार्यक्रम समेटिएका छन्।
नगर प्रमुख यादवले प्रस्तुत नीति तथा कार्यक्रमले उत्पादनशील, समावेशी तथा प्रविधिमैत्री नगर निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्दै “समृद्ध नगर, सुखी नगरबासी” को लक्ष्य हासिल गर्न सबै पक्षको सहकार्य आवश्यक रहेको बताए।

कार्यक्रमको अन्त्यमा प्रमुख प्रशासकीय अधिकृत उपेन्द्र न्यौपानेले नगरसभा सफल बनाउन योगदान पुर्‍याउने राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, पत्रकार, सुरक्षाकर्मी तथा सम्पूर्ण सहभागीप्रति धन्यवाद व्यक्त गरेका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर