रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

धनुषाधामको विकासका मुद्दा संसदमा उठाउने रास्वपा सांसदहरूको प्रतिबद्धता


धनुषा, धनुषा। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य पुरुषोत्तम यादव र राम विनोद यादव ले धनुषाको ऐतिहासिक तथा धार्मिकस्थल धनुषाधामको भ्रमण गरेका छन्।
भ्रमणका क्रममा दुवै सांसदले प्रसिद्ध धनुष मन्दिरमा दर्शन गर्नुका साथै सब-डिभिजन वन कार्यालयअन्तर्गत रहेको वनस्पति उद्यान तथा मुसहर बस्तीको अवलोकन गरेका थिए। स्थानीयसँग भेटघाट गर्दै उनीहरूले क्षेत्रको विकास, पर्यटन प्रवर्द्धन र पूर्वाधार विस्तारका विषयमा छलफल गरेका थिए।
अवलोकनपछि बोल्दै सांसद पुरुषोत्तम यादवले धनुषाधामको विकास धेरै पहिले नै हुनुपर्ने भए पनि अपेक्षाअनुसार हुन नसकेको बताए। उनले भने, “धनुषाधाम धार्मिक, ऐतिहासिक र पर्यटकीय दृष्टिले अत्यन्त महत्वपूर्ण स्थल हो। यसको विकास जनकपुरधाम र अयोध्याजस्तै हुनुपर्ने थियो, तर दुर्भाग्यवश त्यसअनुसारको विकास हुन सकेन।”
उनले विगतमा धेरै ठूला नेताहरू निर्वाचित भएर गए पनि धनुषाधामले अपेक्षित विकास नपाएको उल्लेख गर्दै अब प्रतिनिधिसभाको बैठकमा धनुषाधामको विकास, पर्यटन पूर्वाधार तथा आवश्यक योजनाका विषयलाई प्राथमिकताका साथ उठाउने प्रतिबद्धता व्यक्त गरे।
सांसद राम विनोद यादवले पनि धनुषाधामको धार्मिक तथा पर्यटकीय महत्वलाई उजागर गर्दै यसको संरक्षण, पूर्वाधार विकास र स्थानीय समुदायको जीवनस्तर उकास्न आवश्यक पहलमा आफूहरू प्रतिबद्ध रहेको बताए।
भ्रमण तथा अवलोकन कार्यक्रममा रास्वपाका स्थानीय नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। स्थानीयवासीले सडक, पर्यटन पूर्वाधार, मुसहर बस्तीको विकास, वनस्पति उद्यानको संरक्षण तथा धार्मिक क्षेत्रको समुचित व्यवस्थापनलगायतका विषयमा सांसदहरूको ध्यानाकर्षण गराएका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर