रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

घुर्मी बजारमा २५ वर्षदेखि सञ्चालित मिलको घर भत्काएको आरोप, जग्गा स्वामित्वबारे विवाद।

 

सिरहाको मिर्चैया नगरपालिका–९ घुर्मी बजारमा लामो समयदेखि प्रयोग हुँदै आएको जग्गामा रहेको चामल कुट्ने मिलको घर भत्काइएपछि जग्गा स्वामित्व र भोगचलनलाई लिएर विवाद उत्पन्न भएको छ।
स्थानीय प्रबिन कुमार सिंहका अनुसार उनले करिब २५–२६ वर्षअघि घुर्मी बजारबाट पिपरा जाने बाटोमा रहेको करिब ८ धुर ऐलानी जग्गा लालबहादुर चौधरीसँग रु. १ हजार ७ सयमा किनेका थिए। उक्त जग्गामा घर बनाएर करिब २५ वर्षदेखि चामल कुट्ने मिल सञ्चालन गर्दै आएको सिंहको भनाइ छ।
तर, शनिबार बिहान करिब ८ बजेको समयमा लालबहादुर चौधरी र उनका छोरासहित करिब १५ जना युवाहरू आएर आफूलाई कुनै पूर्वसूचना नदिई मिल सञ्चालन भइरहेको घर भत्काइदिएको सिंहले आरोप लगाएका छन्।
सिंहले भने, “मैले करिब २५ वर्षदेखि उक्त स्थानमा चामल कुट्ने मिल सञ्चालन गर्दै आएको थिएँ। कुनै सूचना नदिई घर भत्काइएको छ।”
यता लालबहादुर चौधरीले भने जग्गा बिक्री गरेको दाबी अस्वीकार गर्दै आफूले उक्त जग्गा मिल सञ्चालनका लागि भाडामा दिएको बताएका छन्।
चौधरीका अनुसार उनले इङ्लिस वर्ष २००२ मा करिब ९ कठ्ठा जग्गा बाट प्रबिन कुमार सिंहलाई मिल सञ्चालनका लागि मासिक रु. १०० भाडामा दिएका थिए। आफू विदेश गएको समयमा करिब ६–७ वर्षसम्म भाडा लिएको र त्यसपछि भाडा नदिएको चौधरीको भनाइ छ।
“जग्गा भाडा नदिए पनि अहिलेसम्म बस्दै आएका थिए। बाध्य भएर घर टहरा हटाएर जग्गा खाली गरेको हुँ,” चौधरीले भने।
घुर्मी बजारमा ऐलानी जग्गामा घर निर्माण गरी लामो समयदेखि बसोबास तथा व्यवसाय सञ्चालन हुँदै आएको र हाल सोही जग्गाको भोगचलन, घर निर्माण तथा स्वामित्वको विषयलाई लिएर दुई पक्षबीच विवाद देखिएको छ।
उक्त जग्गा कसको अधिकारमा पर्छ भन्ने विषयमा दुवै पक्षका दाबी फरक–फरक रहेकाले सम्बन्धित निकायबाट जग्गाको वास्तविक अवस्था, भोगचलन तथा कानुनी आधारबारे आवश्यक छानबिन हुनुपर्ने देखिन्छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर