काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले काठमाडौंमा आयोजना गरेको राष्ट्रिय भेला बन्दसत्र सुरु भएसँगै राष्ट्रिय सम्मेलनमा परिणत भएको छ। साउन २९ गते पूर्वमहामन्त्री शशांक कोइरालाको अध्यक्षता तथा निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा भेलाको उद्घाटन गरिएको थियो।
उद्घाटनपछि बन्दसत्रमा पुग्दा मञ्चमा राखिएको ब्यानरसमेत परिवर्तन गरी ‘राष्ट्रिय भेला’ को ठाउँमा ‘राष्ट्रिय सम्मेलन’ लेखिएको हो। कांग्रेसको विधानले गुट तथा उपगुटले आयोजना गर्ने भेलालाई औपचारिक मान्यता नदिने भएकाले कार्यक्रमलाई विधानअनुकूल बनाउन सम्मेलनमा रूपान्तरण गरिएको नेता मीनबहादुर विश्वकर्माले बताएका छन्।
विश्वकर्माका अनुसार सुरुमा विधानबाहिर रहेर समानान्तर राष्ट्रिय भेला आयोजना गर्ने तयारी थियो। तर सर्वोच्च अदालतले मुद्दामा निस्सा दिएपछि तथा पछिल्लो राजनीतिक परिस्थितिलाई ध्यानमा राख्दै कार्यक्रमलाई पार्टीको विधानभित्रै रहेर सञ्चालन गर्ने निर्णय गरिएको हो।
गत पुसमा सम्पन्न विशेष महाधिवेशनमा सहभागी नभएका देउवा पक्षका नेताहरू पनि कार्यक्रममा सहभागी भएका छन्। बन्दसत्रमा कांग्रेसको आगामी राजनीतिक तथा संगठनात्मक दिशासहित विभिन्न प्रस्तावमाथि छलफल भइरहेको छ।
संस्थापनइतर पक्षको यो राष्ट्रिय सम्मेलन आज सम्पन्न हुने बताइएको छ।






