भदौ २८ जनकपुरधाम । काठमाडौंमा नयाँ सरकार बनाउन रस्साकस्सी चलिरहेको बेला शुक्रबार साँझ नेपालगञ्जको दृश्य अलि फरक थियो । बुद्ध एयरको विमान काठमाडौंबाट नेपालगञ्जका लागि उडेको खबरसँगै नेपालगञ्ज विमानस्थलमा चहलपहल बढिरहेको थियो । नेपालगञ्ज धम्बोझीका श्रेष्ठ परिवारका सदस्यहरूका साथै नेपालगञ्जका अगुवाहरूको जमघट नेपालगन्ज विमानस्थल परिसरमा बाक्लो बनिरहेको थियो । विमान नेपालगञ्ज विमानस्थलमा अवतरण नहुँदै राष्ट्रिय झन्डा बाँधिएका दुई वटा मिनी ट्रक विमानस्थल भित्रको धावनमार्ग छिर्ने ढोका नजिकै पुगिसकेका थिए । विमानमा ल्याइएका दुईवटा रातो बन्द बाकस एम्बुलेन्समा राखियो । एम्बुलेन्स धावन मार्गबाट निस्कनासाथ ती बाकसलाई पालैपालो राष्ट्रिय झन्डा बाँधिएका मिनी ट्रकमा हालियो । ती राता बाकसमा उच्च शिक्षा अध्ययनका लागि काठमाडौं गएका नेपालगञ्जको धम्बोझीका दुई युवा शुलभ श्रेष्ठ र आयुष थापा मगरका पार्थिव शरीर थिए । उच्च शिक्षाका लागि काठमाडौं पुगेका छोराका शव राखिएको रातो बाकससँगै अर्धचेत अवस्थामा नेपालगञ्ज फर्किएका आयुषका बुवा नरेन्द्र र शुलभका ।आफन्तहरूलाई परिवारका सदस्य, छिमेकी र साथी भाइले सम्हालेर गाडीमा राखे । सम्झाउँदै, बुझाउँदै, समानुभूति राख्दै घरतर्फ लगे ।शुलभका आफन्तहरू नेपालगञ्ज आइनसकेका कारण शवगृहमा लगियो । आयुषको शवलाई उनको घर नेपालगन्जको धम्बोझीमा लगियो । आयुषको शव बाकेको मिनी ट्रक धम्बोझी पुग्दा सिङ्गो धम्बोझी गाउँ र नेपालगन्जका नागरिक समाजका अगुवाहरूको भिड बढ्दै गएको थियो । भिडलाई पन्छाउँदै आयुषको शवलाई श्रद्धान्जलीका लागि घर नजिकैको भेरी स्कुल परिसरमा राखियो । श्रद्धाञ्जली पछि सयौँका संख्यामा मलामीसहित सिधनिया घाटमा पुराएर अन्तिम दाह संस्कार गरियो ।





