रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

सुनचाँदी व्यवसायीहरु आ–आफ्नो पसलमा कालो झण्डा झुण्ड्याएर सांकेतिक रुपमा विरोध गर्न जनकपुरधाम उद्योग वाणिज्य संघले आह्वान गरेको छ

[sharethis-inline-buttons]

कार्तिक २, जनकपुर। सुनचाँदी बजारमा व्यवसायीहरुलाई लक्षित गर्दै शुक्रबार साँझ गरिएको प्रहरी दमनको विरोधमा शनिबारदेखि सम्पूर्ण व्यवसायीलाई आ–आफ्नो पसलमा कालो झण्डा झुण्ड्याएर सांकेतिक रुपमा विरोध गर्न जनकपुरधाम उद्योग वाणिज्य संघले आह्वान गरेको छ । जउवा संघका महासचिव फुलदेव पण्डितले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘असोज ३१ गते शुक्रबार जनकपुरधामको सुनचाँदी बजारमा प्रहरीद्वारा व्यवसायीहरू माथि गरिएको आक्रमण र दमनको घटनाले व्यावसायिक समुदाय आक्रोशित बनेको छ । समस्या समाधान नहुञ्जेलसम्म विरोध र संघर्ष जारी रहने छ । उक्त विज्ञप्तिमा उद्योग वाणिज्य संघले सबै व्यापारी र उद्योगीलाई पसलमा कालो झण्डा झुण्ड्याएर विरोध गर्दै ऐक्यबद्धता जनाउन आग्रह पनि गरेको छ ।जउवा संघले प्रहरी दमन कार्यशैलीविरुद्ध शान्तिपूर्ण प्रतिवादको रूपमा अघि सारेको जनाएको छ । शुक्रबार साँझ जनकपुरधाम उपमहानगरपालिका–५ स्थित सञ्जय पायल ज्वेलर्समा प्रहरी टोलीले जबर्जस्ती पसलभित्र प्रवेश गरी चाँदीका गरगहना लैजान खोज्दा विवाद उत्पन्न भएको थियो । सोही क्रममा प्रहरी नायव उपरीक्षक गणेशबहादुर बमको नेतृत्वमा गएको टोलीले व्यवसायीमाथि लाठीचार्ज गरी उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्रकुमार भण्डारीलाई गम्भीर घाइते बनाएको आरोप संघले लगाएको छ । अध्यक्ष भण्डारीको उपचार प्रादेशिक अस्पताल जनकपुरमा भइरहेको छ संघले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि तत्काल कारबाही गर्न, व्यापारीको सुरक्षा सुनिश्चित गर्न र प्रहरीबाट हुने मनोमानी अन्त्य गर्न सरकारसँग माग गरेको छ । संघले व्यापारीमाथिको दमनमा संलग्न प्रहरी अधिकारीहरूलाई कारबाही नगरी माग बेवास्ता गरेमा कडा आन्दोलन गर्ने चेतावनी दिएको छ । सचिव पण्डितले जउवा संघले प्रहरीको दमनविरुद्ध चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर