कार्तिक १७ जनकपुरधाम। नेकपा एकीकृत समाजवादीसहितका दलहरुसँग एकता सहमति गर्दा नेकपा माओवादी केन्द्रले आफ्नो मार्गनिर्देशक सिद्धान्त माओवाद छोडेको छ । पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपालसहित ८ दलका अध्यक्ष एवं संयोजकले हस्ताक्षर गरेको एकता सहमतिपत्रको पहिलो बुँदामै मार्गनिर्देशक सिद्धान्तबारे उल्लेख छ, जहाँ नयाँ पार्टीको सिद्धान्त ‘मार्क्सवाद(लेनिनवाद’ हुने भनिएको छ । नेताहरूका अनुसार एकतामा सहमति जनाएका दलहरुले यसअघि मान्दै आएको सिद्धान्त भने छोडिनेछ । ‘सिद्धान्त सहितका तमाम विषयमा पछिल्लो एक वर्षदेखि सघन छलफल गर्दै आएका थियौं’, एकता प्रक्रियामा महत्वपूर्ण भूमिका खेलेका नेता वेदुराम भुसाल भन्छन्, ‘लामै छलफल पछि मार्क्सवाद(लेनिनवाद मानेर जान तयार भएका हौं । माओवादीले माओवाद छोड्दा अरूले त्यागेको सिद्धान्त बुझ्न उनीहरुको पृष्ठभूमिसम्म जानुपर्ने हुन्छ । एकता सहमति गरेका सबै दल र नेता कम्युनिष्ट पृष्ठभूमिकै हुन् । तसर्थ कम्युनिष्ट पार्टी र मार्क्सवादी सिद्धान्त उनीहरुको साझा र आधारभूत मान्यता हो । तर, पार्टी विभाजन हुने समस्याले अनेक विचारधारालाई आदर्श मान्ने अभ्यास नेपालमा पनि भयो । एमाले र माओवादी धार बलियोगरी विकसित भयो ।२०४६ सालको परिवर्तनसँगै एमाले धारले ‘माओ विचारधारा’ त्याग्दै समयान्तरमा जनताको बहुदलीय जनवाद ९जबज० लाई मार्गदर्शक सिद्धान्त मान्न पुग्यो । शान्तिपूर्ण संघर्षबाटै जनवादी सत्ता स्थापना गर्न सकिन्छ भन्दै आमचुनावमा भाग लिने र संसद(सत्ताको राजनीति गर्न थाल्यो ।कम्युनिष्टहरुको अर्को धारले भने २०४८ सालको चितवन महाधिवेशनबाट ‘माओवाद’लाई सिद्धान्त मान्ने निष्कर्ष निकाल्यो । यो धार माओेवादी नामै राखेर १ फागुन २०५२ सालदेखि सशस्त्र विद्रोहमा होमियो । दश वर्ष सशस्त्र संघर्ष गर्दै मुलुकको शक्तिशाली पार्टी बन्न आइपुग्यो ।यिनै दुई धारबाट विकसित र विभाजित हुँदै आएका दलहरुबीच एकता सहमति भएको छ । र, बहुमत संख्या एमाले पृष्ठभूमिका छन् ।एकतामा हस्ताक्षर गर्ने राजु कार्की, सुवासराज काफ्ले, महिन्द्र राय यादव, माधव नेपाल र प्रेमबहादुर सिंह एमाले पृष्ठभूमिका नेता हुन् ।नेकपा समाजवादीका अध्यक्ष रहेका राजु कार्कीलाई चिन्न एमाले निर्माणको इतिहासतर्फ फर्कनुपर्ने हुन्छ । २०४७ सालमा तत्कालीन माले र मार्क्सवादी बीच एकता भएर एमाले बन्यो । मार्क्सवादीका मनमोहन अधिकारीलाई अध्यक्ष र मालेका नेता मदन भण्डारीलाई महासचिव मानेर एमाले बनाउने प्रक्रियामा केही नेताहरुको असन्तुष्टि थियो ।जसमा मार्क्सवादीका नेता प्रभुनारायण चौधरी लगायत थिए । राजु कार्की त्यही असहमत समूहका विद्यार्थी नेता थिए । कार्कीले केही समय अघि मात्रै निर्वाचन आयोगमा नेकपा समाजवादी दर्ता गरेका थिए । यो पार्टी नामको खोजी गर्दा उनी एकता प्रक्रियामा सामेल भएका हुन् । एकतामा सामेल अर्को घटक जनसमाजवादी पार्टी, नेपालका अध्यक्ष सुवासराज काफ्ले पनि एमाले पृष्ठभूमिकै नेता हुन् । २०५४ सालमा एमाले विभाजन हुँदा वामदेव गौतमको नेतृत्वमा आधा हिस्साले माले गठन गरेका थिए ।पछि वामदेवले लगभग सिंगो पार्टी एमालेमै फर्काए । तर सीपी मैनालीले एउटा सानो समूहको नेतृत्व गरेर बसे । त्यही समूहभित्र पनि जगत बोगटी पक्षधरले बहुमत जुटाएर पार्टीको संस्थापन बन्दा चुनाव चिह्न तारा पनि लियो । अहिले त्यो चुनाव चिह्न तारा रहेको पार्टीको नेतृत्व काफ्लेले गरिरहेका थिए । २०५६ सालमा मालेले प्रयोग गरेको चुनाव चिह्न ताराकै कारण काफ्ले एकता प्रक्रियामा सहभागी छन् ।






