कार्तिक २०, जनकपुरधाम। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई गराइएको ध्यानाकर्षणबाट सो तथ्य सार्वजनिक भएको छ । परिषद्का कार्यकारी निर्देशक वैद्यनाथ पासवानले मन्त्रालयलाई पत्र लेख्दै परिषद् कार्यालयको वर्तमान अवस्थाबारे अवगत गराउँदै सो कार्यालयको नाममा फेक विज्ञापन निकालेर भ्रम सृजना गरेको भन्दै स्थानीय प्रशासनलाई समेत जानकारी गराएका छन् ।कार्यकारी निर्देशक पासवानले मन्त्रालयलाई पठाइएको पत्रमा विगत २०८० माघदेखि हालसम्म कार्यालयमा कार्यरत कर्मचारीहरूले तलब र भत्ता नपाएको उल्लेख छ । बिजुली र खानेपानीको सुविधा नहुँदा कार्यालय सञ्चालन ठप्प रहेको र दैनिक कामकाज गर्न असम्भव भएको पत्रमा भनिएको छ ।उनका अनुसार २०८२ भदौँ २३ र २४ गतेको जेनजी जनआन्दोलनका क्रममा कार्यालयका भौतिक संरचना र सामग्रीहरू क्षतिग्रस्त भएका थिए । तर अहिलेसम्म पनि ती सामग्रीको मर्मत वा पुनःस्थापना गर्ने कुनै योजना नबनाइएकाले कार्यालय निस्क्रिय बनेको उनको भनाइ छ । कार्यकारी निर्देशक पासवानले परिषद्का अध्यक्ष शीतल साहमाथि निजी स्वार्थका लागि कार्यालय ध्वस्त पार्ने योजना बनाएको आरोपसमेत लगाए । उनका अनुसार ३० वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीहरूलाई सेवा–सुविधाबाट वञ्चित गरिएको र कार्यालयको नाममा रहेका बैंकको खातासमेत बन्द अवस्थामा रहेको छ ।पासवानले गत असोज १७ गते केही पत्रपत्रिकार र न्यूज पोर्टलमासमेत प्रकाशित कर्मचारी भर्ना सम्बन्धी विज्ञापनलाई ‘फेक’ भन्दै उनले मन्त्रालय, स्थानीय प्रशासन, लोक सेवा आयोगसमेतलाई ध्यानाकर्षण गराउँदै कारबाहीका लागि माग गरेका छन् । पासवानका अनुसार परिषद्मा कार्यरत २२ जना स्थायी कर्मचारीहरू रहेकै अवस्थामा नयाँ भर्ना सम्बन्धी विज्ञापन प्रकाशन गरिन कानुन विपरीत कार्य रहेको छ । उनले उक्त विज्ञापन आफूले जारी नगरेको र कार्यकारी निर्देशकको सहमति विना गरिएकाले गैरकानुनी र अनधिकृत रहेको प्रष्ट्याए । उनले पत्रमार्फत मन्त्रालयलाई उक्त विज्ञापन तत्काल रोक्का गर्न र यस विषयमा आवश्यक छानबिन गर्न आग्रह गरेका छन् । लामो समयदेखि तलब भत्ता नपाउँदा परिषद्का कर्मचारीहरू कामविहीन बनेका छन् । बिजुली र खानेपानी नहुँदा कार्यालयमा बस्नै नसक्ने अवस्था भएको कार्यकारी निर्देशक पासवानले बताए । पासवानले उक्त पत्रको प्रतिलिपि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, अर्थ मन्त्रालय, लोकसेवा आयोग, जिल्ला प्रशासन कार्यालय धनुषा र महोत्तरी तथा कोष तथा लेखा नियन्त्रक कार्यालय धनुषालाई समेत लेख्दै छानबिनका लागि आग्रह गरेका छन् ।जनकपुरधाम र आसपासका क्षेत्रमा सांस्कृतिक तथा भौतिक विकासका लागि स्थापना गरिएको परिषद् पछिल्ला वर्षमा परिषद्का अध्यक्ष शीतल साह भएपछि थप विवादित बन्दै गएको छ । कार्यकारी निर्देशक पासवानका अनुसार कारबाहीमा परेका अध्यक्ष साहले आफ्नो छोरा र आफन्तजनलाई समेत प्रयोग गर्दै परिषद्मा स्वार्थ पूरा गर्नका लागि जबर्जस्ती रुपमा राजनीतिक हस्तक्षेप गर्ने र आर्थिक अनियमितता लुकाउनका लागि विभिन्न खाले प्रपञ्च रच्दै थप षड्यन्त्रहरु गरिरहेको आरोप लगाए ।
बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को नाममा फेक कार्यहरु भइरहेको भन्दै तथ्य सार्वजनिक
तपाईको प्रतिक्रिया
सम्बन्धित खबर




