रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

मधेशमा एसइई चैत १९ देखि कडा नियमसहित २९९ केन्द्रमा ८७,५९१ विद्यार्थी सहभागी

[sharethis-inline-buttons]

नागेन्द्र महरा,धनुष टिभी
जनकपुरधाम, चैत १६ — मधेश प्रदेशमा यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) चैत १९ गतेदेखि सुरु हुने भएको छ। परीक्षा व्यवस्थित, मर्यादित र निष्पक्ष बनाउन कडा नियमहरू लागू गरिएको छ।
शिक्षा तथा संस्कृति मन्त्रालय मधेश प्रदेशमा प्रदेशस्तरीय बैठकले परीक्षालाई अनुशासित बनाउन विभिन्न महत्वपूर्ण निर्णयहरू गरेको छ। बैठकको अध्यक्षता शिक्षामन्त्री रानी कुमारी तिवारीले गरेकी थिइन्।
निर्णय अनुसार परीक्षा केन्द्रभित्र मोबाइल पूर्ण रूपमा प्रतिबन्ध गरिएको छ। मोबाइल फेला परेमा जफत गरी नष्ट गरिनेछ। केन्द्राध्यक्ष बाहेक अन्य कर्मचारीलाई पनि मोबाइल लैजान निषेध गरिएको छ। साथै परीक्षा केन्द्रभित्र पत्रकार प्रवेशसमेत निषेध गरिएको छ।
अनियमितता रोक्न कडा अनुगमन व्यवस्था मिलाइएको छ। यस वर्ष मधेश प्रदेशभर २९९ परीक्षा केन्द्र निर्धारण गरिएको छ भने ८७ हजार ५९१ विद्यार्थी परीक्षामा सहभागी हुनेछन्।
बैठकमा प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुईटेल, प्रहरी नायव महानिरीक्षक गोविन्द थपलिया, शिक्षा मन्त्रालयका सचिवस्तरका अधिकारीहरू, राष्ट्रिय परीक्षा बोर्ड जनकपुरका प्रमुख लगायत विभिन्न जिल्लाका शिक्षा समन्वय इकाई प्रमुखहरूको सहभागिता रहेको थियो।
मन्त्रालयले सबै सरोकारवालालाई जिम्मेवार र समन्वयात्मक रूपमा काम गर्न निर्देशन दिँदै परीक्षा शान्तिपूर्ण र मर्यादित रूपमा सम्पन्न गराउन आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर