रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

जनकनन्दनी गाउँपालिकाको १५औँ गाउँसभा सम्पन्न, ४६ करोड १६ लाखको बजेट प्रस्तुत

[sharethis-inline-buttons]

धनुषा, असार ६ । जनकनन्दनी गाउँपालिकाको १५औँ गाउँसभा गाउँपालिका अध्यक्ष दिपिनदेव यादवको अध्यक्षतामा सम्पन्न भएको छ। गाउँसभामा उपाध्यक्ष कमला सहगलले आर्थिक वर्ष २०८३/०८४ को नीति, कार्यक्रम तथा ४६ करोड १६ लाख रुपैयाँको बजेट प्रस्तुत गरेकी थिइन्।

प्रस्तुत बजेटमा संघीय सरकारबाट प्राप्त वित्तीय समानीकरण, सशर्त, विशेष तथा समपूरक अनुदान, राजस्व बाँडफाँड, प्रदेश सरकारबाट प्राप्त अनुदान तथा आन्तरिक स्रोतको रकम समावेश गरिएको छ। बजेटमध्ये ६७ प्रतिशत चालु र ३३ प्रतिशत पुँजीगत खर्चतर्फ विनियोजन गरिएको छ।

गाउँसभालाई सम्बोधन गर्दै अध्यक्ष यादवले जनकनन्दनी गाउँपालिकालाई “मधेश प्रदेशको हुम्ला–जुम्ला” को संज्ञा दिँदै सीमित स्रोत–साधनका बाबजुद शिक्षा, स्वास्थ्य, कृषि तथा पूर्वाधार क्षेत्रमा उल्लेखनीय परिवर्तन आएको बताए। उनले जनताको अपेक्षा क्रमिक रूपमा पूरा गर्दै विकास निर्माणका कामलाई थप प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गरे।

आर्थिक वर्ष २०८३/०८४ का लागि गाउँपालिकाले हरित गाउँ, स्मार्ट गाउँ निर्माण, सर्पदंश उपचार केन्द्र स्थापना, कृषि उत्पादन वृद्धि, स्वास्थ्य सेवा विस्तार तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको जनाएको छ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सन्तोषकुमार शर्माले प्रस्तुत नीति तथा कार्यक्रम गाउँपालिकाको समग्र विकासका लागि महत्वपूर्ण रहेको उल्लेख गर्दै गाउँसभा सफलतापूर्वक सम्पन्न गराउन भूमिका निर्वाह गर्ने सबैप्रति धन्यवाद ज्ञापन गरे।

गाउँसभाले आगामी आर्थिक वर्षका नीति तथा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्दै “समृद्ध जनकनन्दनी, सुखी जनकनन्दनीवासी” निर्माणको लक्ष्य हासिल गर्न सबै पक्षसँग सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर