सिरहाको कर्जनहा नगरपालिका–७ का वडा अध्यक्ष रामसेवक यादवका छोरा अन्दाजी २१ वर्षीय गिरजा यादवविरुद्ध पत्रकारमाथि आक्रमण गरेको घटनामा रिस, आवेग वा उत्तेजनामा कुटपिट गरेको सम्बन्धी कसुर अन्तर्गत मुद्दा नं. २११ दर्ता भएको छ।
रेडियो धनुषाधामका पत्रकार गोबिन्द यादव निर्माणाधीन आरसीसी सडक ढलानको गुणस्तरबारे स्थलगत रिपोर्टिङ गरिरहेका बेला उनीमाथि आक्रमण भएको थियो। आक्रमणबाट पत्रकार यादवको टाउकोमा गम्भीर चोट लागेको थियो भने उपचारका क्रममा तीन वटा टाँका लगाउनुपरेको जनाइएको छ।
घटनाप्रति नेपाल पत्रकार महासंघ मधेश प्रदेश समिति तथा नेपाल पत्रकार महासंघ, सिराहा शाखा ले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै कडा शब्दमा निन्दा तथा भर्त्सना गरेका छन्।
महासंघले पत्रकारमाथि भएको हिंसात्मक आक्रमणलाई प्रेस स्वतन्त्रता, नागरिकको सूचनाको हक र लोकतान्त्रिक मूल्यमान्यतामाथिको प्रत्यक्ष प्रहार भएको उल्लेख गर्दै घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनबमोजिम अविलम्ब कारबाही गर्न माग गरेको छ।
साथै, घाइते पत्रकार गोबिन्द यादवको प्रभावकारी उपचार, आवश्यक सुरक्षा व्यवस्था सुनिश्चित गर्न तथा पत्रकारहरूले निर्भीक र सुरक्षित वातावरणमा आफ्नो पेशागत जिम्मेवारी निर्वाह गर्न सक्ने अवस्था निर्माण गर्न सम्बन्धित निकायसँग जोडदार माग गरिएको महासंघले जनाएको छ।
पत्रकारमाथि आक्रमण गर्नेविरुद्ध मुद्दा दर्ता
तपाईको प्रतिक्रिया
सम्बन्धित खबर






