जनकपुरधाम, धनुषा — मधेश प्रदेशका गृह, सञ्चार तथा कानून मन्त्री फकिरा महतोको नेतृत्वमा शुक्रबार जनकपुरधामका विभिन्न होटल तथा भोजनालयमा गरिएको संयुक्त बजार अनुगमनका क्रममा फोहोर, म्याद गुज्रिएका खाद्य सामग्री र अस्वच्छ भान्सा फेला परेपछि पाँच व्यवसायीलाई कारबाही गरिएको छ।
जिल्ला प्रशासन कार्यालय धनुषा, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय तथा सम्बन्धित निकायको संयुक्त टोलीले १२ वटा होटल तथा खाद्य व्यवसायको अनुगमन गरेको थियो। अनुगमनका क्रममा खाद्य ऐनको गम्भीर उल्लङ्घन गरेको पाइएपछि राजु होटल, सीताराम भोजनालय, हंसराज मिष्ठान्न भण्डार, नवरंग होटल तथा न्यू सिटी होटललाई खाद्य ऐनअनुसार जरिवाना गरिएको जनाइएको छ।
अनुगमनपछि खाद्य सुरक्षा, सरसफाइ र उपभोक्ता स्वास्थ्यप्रति गम्भीर प्रश्न उठेको छ। धार्मिक तथा पर्यटकीय नगरी जनकपुरधाममा लामो समयदेखि यस्ता कमजोरी कायम रहनु नियमित अनुगमन प्रणालीको प्रभावकारितामाथि समेत प्रश्न उठाएको सरोकारवालाहरूको भनाइ छ।
नागरिक समाजका प्रतिनिधि मुरली मनोहर मिश्रले कारबाही स्वागतयोग्य भए पनि केवल जरिवानाले मात्र समस्या समाधान नहुने बताए। उनका अनुसार नियमित बजार अनुगमन, खाद्य सुरक्षा मापदण्डको कडाइका साथ कार्यान्वयन, होटलहरूको स्वच्छता मूल्याङ्कन, प्रयोगशाला परीक्षण तथा उपभोक्ता गुनासो व्यवस्थालाई प्रभावकारी बनाउनु आवश्यक छ।
विशेषज्ञहरूका अनुसार म्याद गुज्रिएका तथा अस्वच्छ खाद्य सामग्रीको सेवनले झाडापखाला, फुड प्वाइजनिङ, टाइफाइड, हेपाटाइटिस, साल्मोनेला संक्रमणलगायत विभिन्न स्वास्थ्य समस्या निम्त्याउन सक्छ, जसको बढी जोखिम बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला र दीर्घरोगीमा रहने गर्दछ।
जनकपुरधाम धार्मिक पर्यटनको प्रमुख गन्तव्य भएकाले होटल तथा भोजनालयको सरसफाइ, सुरक्षित खाद्य सेवा र प्रभावकारी फोहोर व्यवस्थापनलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औँल्याइएको छ। नागरिक समाजले नियमित अनुगमन, पारदर्शी प्रतिवेदन सार्वजनिक गर्ने व्यवस्था, होटल व्यवसायीलाई खाद्य सुरक्षा तालिम तथा उपभोक्ता सचेतना अभियान सञ्चालन गर्न सम्बन्धित निकायसँग आग्रह गरेको छ।






