रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

गणेशमान चारनाथमा ३२८ परिवारलाई लालपुर्जा वितरण

धनुषा, गणेशमान चारनाथ । गणेशमान चारनाथ नगरपालिका–६ स्थित गाउँ ब्लक क्षेत्रका जग्गाधनीलाई लालपुर्जा वितरण गरिएको छ। नगर प्रमुख जित नारायण यादवको नेतृत्वमा आयोजित कार्यक्रममा वर्षौंदेखि लालपुर्जाविहीन रहेका स्थानीयलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) हस्तान्तरण गरिएको हो।
कार्यक्रममा वडा नं. ६ का वडा अध्यक्ष रञ्जित कुमार साह, नापी कार्यालय जनकपुरका प्रमुख उमेश साह, नापी कार्यालयका प्राविधिक टोली तथा गणेशमान चारनाथ नगरपालिकाका अमिन राम ईश्वर यादवको उपस्थितिमा लालपुर्जा वितरण गरिएको थियो।
नापी कार्यालय जनकपुरका प्रमुख उमेश साहका अनुसार गाउँ ब्लक क्षेत्रका जम्मा ३२८ वटा लालपुर्जा सम्बन्धित जग्गाधनीलाई वितरण गरिएको छ।
कार्यक्रममा बोल्दै नगर प्रमुख जित नारायण यादवले लालपुर्जा वितरणसँगै स्थानीय नागरिकको वर्षौंदेखिको जग्गा स्वामित्वसम्बन्धी समस्या समाधानतर्फ महत्वपूर्ण उपलब्धि हासिल भएको बताए। साथै आगामी दिनमा बाँकी रहेका समस्याहरू पनि क्रमशः समाधान गर्दै जाने प्रतिबद्धता व्यक्त गरे।
स्थानीय नागरिकले लालपुर्जा प्राप्त गरेपछि खुसी व्यक्त गर्दै नगरपालिकाको पहल र नापी कार्यालयको समन्वयप्रति धन्यवाद दिएका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर