रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

जलेश्वर नगरपालिकाको १८औँ नगरसभा सम्पन्न, रु. ८४ करोड ५० लाखभन्दा बढीको बजेट प्रस्तुत

 

महोत्तरीको जलेश्वर नगरपालिकाको १८औँ नगरसभा भव्य रूपमा सम्पन्न भएको छ। नगरसभाका सभापति तथा नगर प्रमुख सुरेश साह सोनारको अध्यक्षतामा सम्पन्न नगरसभामा मधेश प्रदेश सभाका सभामुख रामाशिष यादव प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, विभिन्न सरकारी कार्यालयका प्रमुखहरू, सुरक्षा निकायका प्रतिनिधिहरू, जनप्रतिनिधिहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, बुद्धिजीवी, पत्रकार, नागरिक समाजका अगुवा तथा नगरवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

नगरसभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमसँगै अनुमानित रु. ८४ करोड ५० लाख ४६ हजार बराबरको आय–व्यय (बजेट) प्रस्तुत गरिएको छ। प्रस्तुत बजेटअनुसार संघीय सरकारबाट वित्तीय समानीकरण, सशर्त, विशेष तथा राजस्व बाँडफाँटमार्फत प्राप्त हुने अनुदान, मधेश प्रदेश सरकारबाट प्राप्त हुने विभिन्न अनुदान, स्थानीय राजस्व, बैंक मौज्दात तथा अन्य स्रोतलाई समेटेर कुल बजेट निर्माण गरिएको छ।

प्रस्तुत बजेटअनुसार चालु खर्चतर्फ रु. ६३ करोड ३७ लाख ८४ हजार ५ सय र पुँजीगत खर्चतर्फ रु. २१ करोड १२ लाख ६१ हजार ५ सय विनियोजन गरिएको छ। नगरपालिकाले शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, सरसफाइ, सडक तथा पूर्वाधार निर्माण, महिला तथा बालबालिका, युवा, रोजगार, सामाजिक सुरक्षा, विपद् व्यवस्थापन, वातावरण संरक्षण, सुशासन र सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै बजेट विनियोजन गरेको जनाएको छ।

नगरसभालाई सम्बोधन गर्दै नगर प्रमुख सुरेश साह सोनारले नगरको समग्र विकास, पारदर्शिता, उत्तरदायित्व र जनअपेक्षा अनुरूप सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। सीमित स्रोत–साधनका बाबजुद नगरवासीको आवश्यकता र प्राथमिकतालाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम तयार गरिएको उहाँको भनाइ थियो। नगरको विकासमा सबै राजनीतिक दल, जनप्रतिनिधि, कर्मचारी तथा नगरवासीको सहकार्य अपरिहार्य रहेको उहाँले उल्लेख गर्नुभयो।

प्रमुख अतिथि मधेश प्रदेश सभामुख रामाशिष यादवले स्थानीय सरकार नै नागरिकसँग प्रत्यक्ष जोडिएको सरकार भएकाले विकास निर्माणका काममा पारदर्शिता, जनसहभागिता र जवाफदेहिता सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले जलेश्वर नगरपालिकाले शिक्षा, स्वास्थ्य, पूर्वाधार र सुशासनलाई प्राथमिकता दिँदै अघि बढे नगरवासीले प्रत्यक्ष लाभ पाउने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले स्थानीय सरकार, प्रशासन र सुरक्षा निकायबीच समन्वय र सहकार्यलाई अझ प्रभावकारी बनाउँदै विकास निर्माणका काम समयमै सम्पन्न गर्नुपर्ने धारणा राख्नुभयो। नगरसभामा सहभागी विभिन्न राजनीतिक दलका प्रतिनिधि, वडाध्यक्ष तथा सरोकारवालाहरूले नगरको समग्र विकास, गुणस्तरीय सेवा प्रवाह, बेरोजगारी न्यूनीकरण, पूर्वाधार विस्तार तथा सामाजिक विकासका विषयमा आफ्ना सुझाव राखेका थिए।

नगरसभाले प्रस्तुत नीति, कार्यक्रम र बजेटमाथि छलफल गरी आवश्यक सुझावसहित आगामी आर्थिक वर्षका विकास योजना प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। जलेश्वर नगरपालिकाले नागरिकमैत्री, पारदर्शी र विकासमुखी स्थानीय शासनलाई सुदृढ बनाउने लक्ष्यका साथ आगामी वर्षका कार्यक्रमहरू अघि बढाउने जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर