रामनारायण ठाकुर ।धनुष टिभी ,सिरहा, साउन २३ –
सब डिभिजन वन कार्यालय बन्दीपुर, सिरहाका कार्यालय प्रमुख रामकेवल राय यादव १२ हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा रंगेहात पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय बर्दिबासको टोलीले मंगलबार सिरहाको कर्जन्हा नगरपालिका–४ बाट उनलाई १२ हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको हो।
अख्तियारका अनुसार कर्जन्हा नगरपालिका–२ स्थित एक काठ उद्योगले विभिन्न स्थानबाट ल्याएको तीन ट्रक काठको सहजीकरण गरिदिने भन्दै उनले प्रतिट्रक ४ हजार रुपैयाँका दरले कुल १२ हजार रुपैयाँ घुस मागेका थिए।
घुस मागिएपछि सेवाग्राहीले अख्तियारमा उजुरी दिएका थिए। सोही उजुरीका आधारमा अख्तियारको टोलीले स्ट्रिङ अपरेसन सञ्चालन गरी यादवलाई घुस रकमसहित पक्राउ गरेको जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।






