रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

मधेश प्रदेश सरकारद्वारा अति विपन्न अपाङ्गता भएका व्यक्तिलाई १७ थान विद्युतीय ट्राइसाइकल वितरण

 

जनकपुरधाम, असार ३२। मधेश प्रदेश सरकार, खेलकुद तथा समाज कल्याण मन्त्रालयद्वारा आर्थिक वर्ष २०८२/८३ को स्वीकृत बजेट कार्यक्रमअन्तर्गत अति विपन्न तथा अपाङ्गता भएका व्यक्तिहरूलाई लक्षित गरी १७ थान विद्युतीय (इलेक्ट्रिक) ट्राइसाइकल वितरण गरिएको छ।

खेलकुद तथा समाज कल्याण मन्त्री माननीय लखन दास प्रमुख अतिथिका रूपमा सहभागी भई लाभग्राहीहरूलाई ट्राइसाइकल हस्तान्तरण गर्नुभयो। कार्यक्रममा मन्त्रालयका सचिव सुशील कुमार साह तेली, वरिष्ठ उपसचिव धर्मेन्द्र लाल कर्ण, मन्त्रालयका अन्य कर्मचारी, अपाङ्गता भएका व्यक्तिहरू तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लखन दासले अपाङ्गता भएका व्यक्तिहरूको सम्मानजनक, सहज र आत्मनिर्भर जीवनयापनका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले यस्ता सहयोगमूलक कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने जानकारी दिनुभयो।

लाभग्राहीहरूले विद्युतीय ट्राइसाइकल प्राप्त गरेपछि दैनिक आवतजावत, शिक्षा, स्वास्थ्य तथा रोजगारीमा सहजता पुग्ने विश्वास व्यक्त गर्दै प्रदेश सरकारप्रति आभार प्रकट गरेका थिए।

उक्त वितरण कार्यक्रम उत्साहपूर्ण वातावरणमा भव्य रूपमा सम्पन्न भएको मन्त्रालयले जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर