रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

धनुषाधाममा मल कालोबजारीको आरोप : वडा सदस्यमाथि अनुसन्धान, डिलरको जिम्मेवारीबाट हटाइयो

धनुषा — खेतीपातीको मुख्य समयमा किसानले रासायनिक मलको चरम अभाव झेलिरहेका बेला धनुषाको धनुषाधाम नगरपालिका–५ का वडा सदस्य सुरेश साहमाथि मल डिलरबाट रासायनिक मल ट्याम्पुमा लुकाएर मिथिला बिहारी नगरपालिका–सिरसियातर्फ लैजान खोजेको आरोप लागेको छ।
स्थानीयका अनुसार वडा सदस्य साहले डिलरबाट मल लिएर ट्याम्पुमार्फत सिरसियातर्फ लैजान लागेको सूचना पाएपछि स्थानीय युवाले ट्याम्पु रोकी मल नियन्त्रणमा लिएका थिए। त्यसपछि मल वडा कार्यालयमा सुरक्षित राखिएको थियो। राती प्रहरी चौकी उमाप्रेमपुर, इलाका प्रहरी कार्यालय धनुषाधाम तथा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस धनुषाधामको संयुक्त टोलीले मल लुकाएर राखिएको स्थानमा पुगेर मुचुल्का उठाई ट्याम्पुसहित मल नियन्त्रणमा लिएको जनाएको छ।
स्थानीय किसानहरूले लामो समयदेखि रासायनिक मल नपाउँदा खेतीपाती प्रभावित भइरहेको अवस्थामा जनप्रतिनिधिमाथि नै मल अन्यत्र लैजान खोजेको आरोप गम्भीर भएको बताएका छन्। उनीहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न तथा मल वितरण प्रक्रियामा भएको अनियमितताको सत्यतथ्य सार्वजनिक गर्न माग गरेका छन्।
घटनाबारे प्रतिक्रिया दिँदै वडा नं. ५ का अध्यक्ष इन्द्रकुमार महतोले नियन्त्रणमा परेको मल आफ्नो डिलर पर्वता कृषि सहकारी को नभएको दाबी गरेका छन्। उनले वडा सदस्य सुरेश साहलाई डिलर सञ्चालनको जिम्मेवारी दिएको स्वीकार गर्दै उक्त मल अन्य डिलर वा सीमावर्ती क्षेत्रबाट ल्याइएको हुन सक्ने बताए।
अध्यक्ष महतोले भने, “यदि अनुसन्धानबाट नियन्त्रणमा परेको मल पर्वता कृषि सहकारीकै भएको प्रमाणित भयो भने म वडा अध्यक्ष पदबाट राजीनामा दिन तयार छु।” उनले सुरेश साहलाई तत्कालै डिलर सञ्चालनको जिम्मेवारीबाट हटाइएको जानकारी दिँदै सम्बन्धित निकायले निष्पक्ष अनुसन्धान गर्नुपर्ने र त्यसमा आफूले पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। साथै, मल अभावको अवस्थामा कालोबजारीमा संलग्न वडा सदस्य साहलाई निलम्बन गरी कानुनी कारबाही गर्नुपर्ने उनको माग छ।
यता, आरोपित वडा सदस्य सुरेश साहसँग प्रतिक्रिया लिन खोजिए पनि समाचार तयार पार्दासम्म सम्पर्क हुन सकेन।
यस विषयमा कृषि सामग्री कम्पनी, प्रशासनले अनुसन्धानबाट प्राप्त तथ्यका आधारमा थप कानुनी प्रक्रिया अघि बढाइने बताइएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर