रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

मिर्चैयामा धार्मिक सहिष्णुता र सामाजिक सद्भावका लागि बृहत् र्‍याली

रामनारायण ठाकुर | मिर्चैया, सिरहा
धार्मिक सहिष्णुता, सामाजिक सद्भाव तथा आपसी एकतालाई सुदृढ बनाउने उद्देश्यका साथ शुक्रबार सिरहाको मिर्चैयामा बृहत् सामाजिक सद्भाव र्‍याली आयोजना गरिएको छ।
पछिल्लो समय समाजमा आपसी भाइचारा, धार्मिक सहिष्णुता र सामाजिक एकता कायम राख्नुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै सर्वदलीय तथा सर्वपक्षीय सहभागितामा र्‍याली आयोजना गरिएको हो।
नेपाली कांग्रेसको अगुवाइमा मिर्चैयास्थित पार्टी कार्यालयमा बसेको सर्वदलीय तथा सर्वपक्षीय अगुवा प्रतिनिधिहरूको संयुक्त बैठकले सद्भाव र्‍याली आयोजना गर्ने निर्णय गरेको थियो।
मिर्चैयाको साझा संस्था चोकबाट सुरु भएको र्‍याली थाना चोक हुँदै कटारी चोकमा पुगेर कोणसभामा परिणत भएको थियो। कोणसभापछि मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै दीप प्रज्वलन गरिएको थियो।
र्‍यालीमा स्थानीय नागरिक, नागरिक समाजका प्रतिनिधि, विभिन्न राजनीतिक दल तथा तिनका भ्रातृ संगठनका प्रतिनिधि र सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो। सहभागीहरूले धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र राष्ट्रिय एकताको पक्षमा ऐक्यबद्धता व्यक्त गरेका थिए।
कोणसभामा विभिन्न क्षेत्रका प्रतिनिधिहरूले आफ्नो धारणा राखेका थिए। मुस्लिम समुदायका तर्फबाट हबिबुर रहमान मदनी, ज्येष्ठ नागरिक हकहित समाजका हरियर गोहिबार, महिला नेतृ चन्द्रकला देवी साह, सगरमाथा स्कुलका सञ्चालक प्रदीप तिवारी, राष्ट्रिय स्वतन्त्र पार्टीका शैलेन्द्र राय यादव, नेपाल कम्युनिस्ट पार्टीका प्रतिनिधि तथा मिर्चैया नगरपालिका–८ का वडा अध्यक्ष बिरेश्वर यादव, जनमत पार्टीका केन्द्रीय सदस्य जागेश्वर साह, मिर्चैया उद्योग वाणिज्य संघका अध्यक्ष भरत महासेठ, राष्ट्रिय प्रजातन्त्र पार्टीका विजय महतो, नेपाली कांग्रेसका सिताराम यादव तथा जसपा नेपालका अजय यादव (सानु) ले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र आपसी एकतालाई अझ सुदृढ बनाउन सबै पक्ष मिलेर अघि बढ्नुपर्नेमा जोड दिएका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर