रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

सरकार–मृतक गणेश यादवका परिवारबीच ७ बुँदे सहमति, सहिद घोषणा प्रक्रिया अघि बढाइने

सिरहा। सुनसरी घटनाको विरोधमा सिरहाको गोलबजारमा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर ज्यान गुमाएका औरही गाउँपालिका–२ तुलसियाहीका १५ वर्षीय गणेश यादवका परिवार र सरकारबीच सातबुँदे सहमति भएको छ।

गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा भएको वार्तामा परिवारले अघि सारेका पाँचबुँदे मागलाई आधार बनाएर सरकारका तर्फबाट थप दुई बुँदा समावेश गर्दै सातबुँदे सहमति गरिएको हो।

सहमतिअनुसार घटनाको निष्पक्ष छानबिन गरिने, गणेश यादवलाई राज्यका तर्फबाट सहिद घोषणा गर्ने प्रक्रिया अघि बढाइने तथा परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराइनेछ।

यस्तै, मृतकका दाइ र बहिनीलाई निःशुल्क शिक्षा तथा स्वास्थ्य सेवाको व्यवस्था गर्ने, गणेश यादवको स्मृतिमा पार्क निर्माण गर्ने, उनका बुबाआमाको निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था मिलाउने तथा शनिबार नै शव परिवारलाई बुझाएर दाहसंस्कार गर्ने सहमति भएको छ। दाहसंस्कारका लागि आवश्यक सम्पूर्ण खर्च पनि सरकारले व्यहोर्ने जनाएको छ।

शवको अवस्थाबारे उठेका जिज्ञासाको जवाफ दिँदै गृहमन्त्री गुरुङले पोस्टमार्टमका लागि शव धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको जानकारी दिए। अनुसन्धानलाई प्रभावकारी र निष्पक्ष बनाउन शव त्यहाँ पठाइएको बताउँदै उनले शनिबार हेलिकोप्टरमार्फत शव सिरहा ल्याई परिवारको जिम्मा लगाइने बताए।

यस सहमतिसँगै आन्दोलनका कारण उत्पन्न तनाव कम हुने अपेक्षा गरिएको छ भने घटनाको निष्पक्ष अनुसन्धान र सहमतिका बुँदाहरूको कार्यान्वयनतर्फ सबैको ध्यान केन्द्रित भएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर