रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

मिथिला बिहारी–४ मा गाउँ ब्लक जग्गाको प्रमाणपुर्जा वितरण, वर्षौंदेखिको समस्या समाधान

जनकपुरधाम । धनुषाको मिथिला बिहारी नगरपालिका–४ मा गाउँ ब्लक जग्गाको जग्गाधनी प्रमाणपुर्जा वितरण कार्यक्रम सम्पन्न भएको छ। साविक कजरा रमौल गाविस वडा नं. १ देखि ६ सम्मका हाल मिथिला बिहारी नगरपालिका–४ मा पर्ने गाउँ ब्लक जग्गाका जग्गाधनीलाई प्रमाणपुर्जा वितरण गरिएको हो।
नापी कार्यालय धनुषा, जनकपुरधामको आयोजनामा सोमबार वडा नं. ४ को कार्यालय परिसरमा आयोजित कार्यक्रममा नापी अधिकृत तथा टोली प्रमुख इन्जिनियर निरन्जन यादवको सभाध्यक्षता रहेको थियो। कार्यक्रममा मिथिला बिहारी नगरपालिकाका मेयर राजेन्द्रप्रसाद यादव प्रमुख अतिथिका रूपमा तथा वडा नं. ४ का वडा अध्यक्ष प्रदिप यादवलगायत जनप्रतिनिधि, नापी कार्यालयका कर्मचारी, जग्गाधनी, स्थानीय बुद्धिजीवी, समाजसेवी तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, महिला, दलित तथा जनजाति समुदायका प्रतिनिधि जग्गाधनीलाई सभाध्यक्ष तथा प्रमुख अतिथिमार्फत जग्गाधनी प्रमाणपुर्जा हस्तान्तरण गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै मेयर राजेन्द्रप्रसाद यादवले गाउँ ब्लक जग्गाको प्रमाणपुर्जा वितरणले वर्षौंदेखि जग्गाको स्वामित्वसम्बन्धी समस्या झेल्दै आएका स्थानीय बासिन्दालाई ठूलो राहत मिलेको बताए। उनले प्रमाणपुर्जा प्राप्तिसँगै स्थानीयको जग्गामाथिको कानुनी स्वामित्व थप सुनिश्चित भएको उल्लेख गरे।
वडा अध्यक्ष प्रदिप यादवले स्थानीयको लामो समयदेखिको माग पूरा हुनु महत्वपूर्ण उपलब्धि भएको बताए। उनले गाउँ ब्लक जग्गासम्बन्धी बाँकी समस्या समाधानका लागि समेत सम्बन्धित निकायसँग आवश्यक समन्वय गरिने प्रतिबद्धता जनाए।
कार्यक्रममा राष्ट्रिय गान, सहिदप्रति एक मिनेट मौनधारण, स्वागत मन्तव्य, प्रमाणपुर्जा वितरण तथा अतिथिहरूको मन्तव्यलगायतका कार्यक्रम गरिएको थियो। कार्यक्रमको सञ्चालन राम दुलार साहले गरेका थिए भने सहायक टोली प्रमुख सर्भेक्षक राजीव प्रसाद साहले स्वागत मन्तव्य राखेका थिए।
गाउँ ब्लक जग्गाको जग्गाधनी प्रमाणपुर्जा हात परेपछि स्थानीयले वर्षौंदेखि भोग्दै आएको स्वामित्वसम्बन्धी अन्योल अन्त्य भएको भन्दै खुसी व्यक्त गरेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर