रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

यादवको नेतृत्वमा हजारौंले गरे रास्वपा प्रवेश

जनकपुरधाम । धनुषाको विदेह नगरपालिका–स्थित तिनकौरिया बजारमा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेकपाका प्रभावशाली युवा नेता राजकिशोर रोहिता यादवको नेतृत्वमा हजारौं नेता–कार्यकर्ता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्।
कार्यक्रममा विभिन्न राजनीतिक दल तथा समूहमा आबद्ध नेता–कार्यकर्ताले पुराना राजनीतिक शक्तिप्रति असन्तुष्टि जनाउँदै रास्वपाको अभियानमा जोडिएको बताएका छन्।
पार्टी प्रवेशपछि सम्बोधन गर्दै यादवले सुशासन, भ्रष्टाचार अन्त्य र जनताको पक्षमा प्रभावकारी काम गर्न नयाँ राजनीतिक शक्तिको आवश्यकता रहेकाले आफू रास्वपामा प्रवेश गरेको बताए। पुराना दलहरूले समाजलाई विभाजित गर्दै कुर्सीको राजनीति गरेको आरोप लगाउँदै उनले अब जनताको समस्या र आवश्यकतालाई केन्द्रमा राखेर राजनीति गर्नुपर्ने धारणा राखे।
उनले जेनजी आन्दोलनपछि रास्वपाले भ्रष्टाचारविरुद्ध उठाएका आवाज र अभियानबाट प्रभावित भएर पार्टी प्रवेश गरेको स्पष्ट पारे। पार्टीले आफूलाई जुनसुकै जिम्मेवारी दिए पनि इमानदारीपूर्वक पूरा गर्ने बताउँदै यादवले आफूलाई पदको लोभ नरहेको उल्लेख गरे।
यादवले रास्वपाले संगठनलाई गाउँ–गाउँसम्म विस्तार गर्दै जनताको विश्वास जित्नुपर्नेमा जोड दिए। आगामी दिनमा जनताको भावना र आवश्यकतालाई केन्द्रमा राखेर सक्रिय राजनीति गर्ने उनको भनाइ छ।
राजकिशोर रोहिता यादव यसअघि २०७४ र २०७९ को स्थानीय तह निर्वाचनमा विदेह नगरपालिकाका वर्तमान मेयर बेचन दाससँग झिनो मतान्तरले पराजित भएका थिए। आगामी २०८४ को स्थानीय तह निर्वाचनमा रास्वपाबाट मेयरको उम्मेदवार बन्ने सम्भावनाबारे भने उनले कुनै स्पष्ट धारणा सार्वजनिक गरेका छैनन्।
विदेह नगरपालिकामा दलित, अल्पसंख्यक तथा सीमान्तकृत समुदायको उल्लेख्य जनसंख्या रहेको छ। कार्यक्रममा रास्वपाका नेताहरूले विभिन्न दलबाट आएका नेता–कार्यकर्तालाई स्वागत गरेका थिए। पार्टी प्रवेश कार्यक्रममा स्थानीय नेता–कार्यकर्ता तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर