चीनतर्फ बनेको ठूलो ताल फुट्यो, रसुवामा उच्च सतर्कता
धनुष टीभी, काठमाडौं । चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम क्षेत्रमा पहिरोका कारण बनेको ठूलो ताल फुटेको छ। चिनियाँ पक्षबाट ताल फुटेको जानकारी प्राप्त भएको रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले जानकारी दिएका छन्।
प्रजिअ परियारका अनुसार चिनियाँ पक्षबाट ताल फुटेको सूचना आएपछि नदी तटीय क्षेत्रका नागरिकलाई सुरक्षित रहन सर्कुलर गरिएको छ।
छोचेन खोला र पुरेपू त्साङ्पो तिब्बतबाट बग्दै नेपाल प्रवेश गरेपछि भोटेकोशी–त्रिशूली नदी प्रणालीमा मिसिन्छन्। बिहीबार बिहानसम्म उक्त तालमा करिब २० लाख घनमिटर पानी जम्मा भएको थियो भने आगामी तीन दिनमा थप ३० लाख घनमिटर पानी जम्मा हुने अनुमान गरिएको थियो।
ताल फुटेपछि नेपालतर्फ समेत बाढीको जोखिम बढेको भन्दै नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ।
यसैबीच, तालबाट थप बाढीको जोखिम बढेपछि चीनले तिब्बतमा जारी उद्धार अभियानसमेत स्थगित गरेको छ। चिनियाँ सरकारी प्रसारक सीसीटीभीका अनुसार उद्धार टोलीलाई घटनास्थलबाट करिब एक किलोमिटर टाढा सुरक्षित स्थानमा हट्न आदेश दिइएको छ। पहिरोपछि बनेको तालमा पानी भरिएर उद्धार टोली परिचालन भइरहेको क्षेत्रतर्फ पानी बग्न थालेपछि यस्तो निर्णय गरिएको जनाइएको छ।
स्रोत : अनलाइनखबर






