रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

भोटेकोशी बाढीको पीडा भुलाउँदै बालबालिका, आमाछोदिङ्मोमा मनोसामाजिक परामर्श अभियान तीव्र

धनुष टिभी , रसुवा । विनाशकारी भोटेकोशी बाढीले आफन्त र घरबार गुमाएका बालबालिकाको मानसिक स्वास्थ्यमा परेको असर कम गर्न रसुवाको आमाछोदिङ्मो गाउँपालिकाले विद्यालयस्तरमा मनोसामाजिक परामर्श अभियान सञ्चालन गरेको छ।

बाढीपछि उत्पन्न भय, त्रास, तनाव र मानसिक आघातबाट बालबालिकालाई बाहिर निकाल्दै उनीहरूलाई नियमित अध्ययन र दैनिक जीवनतर्फ फर्काउने उद्देश्यले गाउँपालिकाले विद्यालयमै पुगेर परामर्श तथा अभिप्रेरणात्मक कार्यक्रम सञ्चालन गरिरहेको हो।

बाढीका कारण सडक तथा यातायात सम्पर्क प्रभावित हुँदा बाह्य संघसंस्था र परामर्शदाता दुर्गम बस्तीमा पुग्न कठिन भइरहेका बेला गाउँपालिकामै कार्यरत मनोसामाजिक परामर्शकर्ताले विद्यालयमा पुगेर सेवा दिन थालेका छन्।

यसैक्रममा आमाछोदिङ्मो गाउँपालिका–४ स्थित श्री पार्वतीकुण्ड माध्यमिक विद्यालयमा विशेष मनोसामाजिक परामर्श कार्यक्रम सञ्चालन गरिएको छ। कार्यक्रममा विद्यार्थीहरूसँग प्रत्यक्ष संवाद, सामूहिक काउन्सेलिङ तथा तनाव कम गर्ने मनोरञ्जनात्मक खेलकुद गतिविधि सञ्चालन गरिएको थियो।

भोटेकोशी बाढीमा कतिपय बालबालिकाले अभिभावक तथा नजिकका आफन्त गुमाएका छन्। यस्तो अवस्थाले उनीहरूको मानसिक अवस्थामा गहिरो असर पारेको भन्दै परामर्शमार्फत उनीहरूमा पुनः आत्मविश्वास र सकारात्मक सोच विकास गर्ने प्रयास भइरहेको गाउँपालिकाले जनाएको छ।

“विपद्ले भौतिक संरचना मात्रै होइन, बालबालिकाको मनमा पनि गहिरो असर पार्छ। उनीहरूको मुस्कान फर्काउँदै आत्मविश्वास जगाउनु र शिक्षाको यात्रालाई निरन्तरता दिनु अहिलेको प्रमुख आवश्यकता हो,” स्थानीय मनोसामाजिक परामर्शदाता सेरसाङ तामाङले बताए।

गाउँपालिकाको पहलपछि बाढी प्रभावित बालबालिकामा क्रमशः सकारात्मक परिवर्तन देखिन थालेको र उनीहरू नियमित पढाइ तथा सामाजिक गतिविधिमा फर्किन थालेको बताइएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर