जनकपुरधाम, माघ २६ – मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहले जनकपुरधामका निजी अस्पतालहरूको आकस्मिक अनुगमन गरेका छन्। अनुगमनका क्रममा अधिकांश अस्पताल दर्ता नै नगरी सञ्चालनमा रहेको पाइएको छ।
हालै उपचारमा लापरबाहीका घटनाहरू बढ्दै गएपछि मुख्यमन्त्री सिंहले करिब दुई दर्जन निजी अस्पतालमा अनुगमन गरेका थिए। अनुगमनका क्रममा कतिपय अस्पतालहरू आवश्यक पूर्वाधार, दक्ष जनशक्ति तथा कानुनी मान्यता विना सञ्चालनमा रहेको खुलेको छ।
मुख्यमन्त्री सिंहले गैरकानुनी रूपमा सञ्चालनमा रहेका सबै अस्पतालहरूलाई १२ घन्टाभित्र बन्द गरी सरकारलाई साँचो बुझाउन आदेश दिएका छन्। ूस्वास्थ्य सेवामा लापरबाही सह्य हुँदैन। अवैध रूपमा सञ्चालनमा रहेका अस्पतालहरू तुरुन्तै बन्द हुनुपर्छ,ू मुख्यमन्त्री सिंहले चेतावनी दिए।
यसअघि पनि जनकपुरधाममा स्वास्थ्य सेवा प्रदायक संस्थाहरूको अनुगमन गरिए तापनि कारबाहीको अभावमा यस्ता घटना दोहोरिने गरेको थियो। यसपटक मुख्यमन्त्री सिंहको नेतृत्वमा गरिएको अनुगमनले अवैध अस्पतालहरू विरुद्ध कडा कारबाही हुने संकेत देखाएको छ।
स्थानीय बासिन्दाहरूले सरकारको यस कदमको स्वागत गर्दै गैरकानुनी रूपमा सञ्चालनमा रहेका अस्पतालहरूमाथि थप कडाइ गर्न माग गरेका छन्।




