जनकपुरधाम, १ फागुन –
मधेश प्रदेश सरकारले अवैध रूपमा सञ्चालन भइरहेका निजी अस्पतालहरूविरुद्ध कडाइ गर्दै गएको छ। सोही क्रममा मुख्यमन्त्री सतिशकुमार सिँहले बुधबार जनकपुरधामस्थित पाँच निजी अस्पतालको अनुगमन गरेका छन्।
अनुगमनका क्रममा उनले सेवा सञ्चालन अनुमति नलिई अनाधिकृत रूपमा सञ्चालनमा रहेका दुई अस्पताल— पिडारीचोकस्थित जनकपुर मधेश हस्पिटल र रामानन्दचोकस्थित जनकपुर गोल्डन अस्पताललाई तत्काल बिरामी स्थानान्तरण गरी कानुनी प्रक्रिया पूरा गर्न निर्देशन दिएका छन्। ती अस्पतालहरूका कुनै पनि कानुनी कागजात नपाइएपछि मुख्यमन्त्री सिँहले ती संस्थाहरूलाई सेवा सञ्चालन अनुमति लिने प्रक्रिया पूरा गर्न कडाइका साथ आग्रह गरेका हुन्।
मुख्यमन्त्री सिँह स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधनप्रसाद सिँहसहित अनुगमनमा सहभागी भएका थिए। अनुगमनका क्रममा उनले जिरोमाइलस्थित ज्योति आँखा अस्पताल र रामानन्दचोकस्थित सुरक्षा अस्पतालका सञ्चालकहरूलाई आवश्यक कागजातसहित शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पर्क गर्न निर्देशन दिए।
त्यसैगरी, वंशीचोकस्थित हिरा अस्पताललाई आकस्मिक कक्षको बेड संख्या नियमअनुसार घटाउन आदेश दिइएको छ। स्वास्थ्य संस्थाहरूले अनुमतिप्राप्त कुल बेडको १० प्रतिशत मात्र आकस्मिक कक्षमा राख्नुपर्ने प्रावधान भए पनि अस्पतालहरूले नियम विपरीत बढी बेड राखेको पाइएकाले सुधार गर्न निर्देशन दिइएको हो।
यसअघि, मुख्यमन्त्री सिँहले २१ निजी अस्पतालहरूको अनुगमन गरेका थिए। त्यस क्रममा सेवा अनुमति प्राप्त नगरिएका तथा नविकरण नगरेका अस्पतालहरूलाई बन्द गर्न आदेश दिएका थिए। सोही आदेशको अवज्ञा गरेको भन्दै जनकपुरधामको भ्रमरपुराचोकस्थित जनकपुर मोर्डन हस्पिटलका सञ्चालक रामभरोस महतोलाई प्रहरीले पक्राउ गरेको छ।
प्रदेश सरकारले अवैध रूपमा सञ्चालन भइरहेका स्वास्थ्य संस्थाहरूलाई कानुनी दायरामा ल्याउन निरन्तर अनुगमन गर्ने बताएको छ।




