जनकपुरधाम, फाल्गुन ११ गते।
देवभूमि जनकपुरधामको सभ्यता जोगाउने उद्देश्यले सुरु गरिएको ूगंगासागर सफाई अभियान(२०७० ११औं वर्ष पूरा गरी १२औं वर्षमा प्रवेश गरेको छ।
तत्कालीन समयमा नेपाल पत्रकार महासंघ धनुषाका पूर्व अध्यक्ष एवं वर्तमान मधेश प्रदेशका प्रदेश सांसद रामअशिष यादवको नेतृत्वमा वि।सं। २०७० साल फाल्गुन ११ गते शनिबारका दिन रामायणकालीन जीवन्त अवशेष गंगासागरको साप्ताहिक सफाई अभियानको शुभारम्भ गरिएको थियो।
११ वर्ष अघि त्रेतायुगकालीन समयको प्राचीन धरोहर गंगासागरको डिल, किनार तथा जलाशय क्षेत्र प्रदूषित भई दुर्गन्धित अवस्थामा रहेको थियो। सोही कारण सफाई अभियानको थालनी गरिएको थियो। अभियान सुरु भएदेखि नै गंगासागरमा व्यापक परिवर्तन देखा परेको छ।
गंगासागर सफाई अभियानकै निरन्तरतास्वरूप २०७१ साल जेठ २५ गते गंगादशहरा तिथिबाट पवित्र सरोवर गंगासागरमा दैनिक महागंगा आरतीको शुभारम्भ भई हालसम्म नियमित रूपमा सञ्चालन भइरहेको छ।
जल संरक्षणसँगै प्रकृति तथा संस्कृति संरक्षण गर्ने मुख्य उद्देश्यले थालिएको संगीतमय दैनिक महागंगा आरती तथा सफाई अभियानको साकारात्मक प्रभाव देशभर देखिन थालेको छ।
गंगासागर सफाई अभियान सफल भएपछि अभियन्ताहरूले जनकपुरधामका अन्य महत्वपूर्ण धार्मिक तथा ऐतिहासिक स्थलहरूको सरसफाई र संरक्षण कार्यमा सक्रियता देखाएका छन्।
अंगराज, दुधमती नदी, प्राचीन मणिमण्डप, परशुराम कुण्ड, धनुषाधाम, धनुष कुण्ड, बाणगंगा, जलेश्वरनाथ महादेव मन्दिर, लक्ष्मी सागर मटिहानी, हलेसी महादेव मन्दिर, देवघाट, चतराधाम लगायतका दर्जनौं धार्मिक पर्यटकीय स्थलमा सफाई, वृक्षारोपण तथा गंगा आरती अभियान सञ्चालन गरिएको छ।
गंगासागर सफाई अभियानले धार्मिक पर्यटन प्रवर्द्धनमा ठूलो योगदान पुर्याउँदै आएको छ। स्थानीय बासिन्दा, पर्यटक तथा धार्मिक भक्तजनहरूले अभियानप्रति विशेष चासो देखाउँदै निरन्तर सहयोग गरिरहेका छन्। आगामी वर्षहरूमा पनि अभियानलाई अझ प्रभावकारी बनाइने योजना रहेको अभियन्ताहरूले जनाएका छन्।




